Logo
Logo

सुन काण्डका आरोपीलाई गृहमन्त्रीको संरक्षण


3.3k
Shares

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा आरोपित तत्कालिन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जोडबलमा नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ ।

नेपाल ट्रष्टको सञ्चालक समितिमा पदेन अध्यक्ष रहने गृहमन्त्री श्रेष्ठले अनुसन्धान नसकिँदासम्मका लागि भन्दै जगेडामा राखिएका अधिकारीलाई सामान्य प्रशासनमन्त्री अनिता देवी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएर ट्रष्टमा पु¥याएका हुन् । श्रेष्ठका विश्वासपात्र सहसचिव अधिकारीलाई चीनबाट नेपाल ल्याइएको ६१ किलो सुन प्रकरणका मुख्य अभियुक्तसँग नियमित सम्पर्कमा रहेको देखिँदा पनि अध्यागमन विभागबाट तान्न आनाकानी गरेका थिए ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मै आफूसँग प्रमाण रहेको भन्दै अधिकारीको नाम नै लिएपछि बाध्य भएर तानेका थिए । दोषी नै हुन भन्ने प्रमाण देखिँदा पनि गृहमन्त्री श्रेष्ठकै दबाबमा अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छैन । संसद्मा बबण्डर भएपछि यो प्रकरणलाई अनुसन्धान गर्नका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग बनेको छ । समितिले काम नसक्दै श्रेष्ठले आफू अनुकुलको स्थानमा ल्याएर छानबिन प्रभावित पार्न खोजेको भन्दै आलोचना भइरहेको छ ।

अधिकारीलाई गत भदौ ७ गते अध्यागमन विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको थियो । अधिकारीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रस्टको कार्यकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

गत साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका र सिआइबीले मुख्य अभियुक्त बनाएका दावा छिरिङसँग अधिकारीको नियमित सम्पर्क रहेको विवरण बाहिरिएको थियो । राजस्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग महानिर्देशक अधिकारीको वीच्याटमा आर्थिक लेनदेनसमेतको कुराकानी भएको देखिएको थियो ।

उनी २०७९ फागुन १७ गतेदेखि अध्यागमन विभागका महानिर्देशक थिए। उनी महानिर्देशक भएपछि नै सुन तस्करी सुरु भएको थियो। त्यसक्रममा उनले दावा छिरिङसँग विच्याटमा कुराकानी गरेको पाइएको छ । उनकै कारण तस्करीलाई बल पुगेको सिआइबीको दाबी छ ।

भियना होटलका मालिक दावा छिरिङ अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदानप्रदान विवरण पनि प्रहरीले भेटाएको थियो । सिआइबीले विच्याटमा अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानबारे कुराकानी भएको थियो । विच्याटमा दावाले विभिन्न सन्दर्भमा अधिकारीलाई बधाईसमेत दिएको देखिएपछि अधिकारीसँग सिआइबीले बयान लिए पनि पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले रोकेका थिए ।

अधिकारी र दावाबीच २०७८ असार ७ यता निरन्तर संवाद हुने गरेको देखिएको थियो । २०७९ साउन ५ देखिका संवादमा भने राम्रो काम भएको भन्दै आर्थिक लाभको कुराकानी भएको देखिएको थियो । त्यसपछि उनलाई गृहले अध्यागमन विभागबाट तानेर अतिरिक्त समूहमा राखेको थियो ।

सरकारले बुधबार २९ जना सहसचिवको सरुवा गर्दा अधिकारीलाई सामान्य प्रशासनको अतिरिक्त समूहबाट नेपाल ट्रष्टमा पठाएको हो । अधिकारीलाई अतिरिक्त समूहबाट ट्रष्टमा पु¥याउनकै लागि श्रेष्ठको दबाबमा सामान्य प्रशासन मन्त्रालयबाट निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको सहसचिव सरुवाको सूची एक महिनासम्म प्रधानमन्त्री कार्यालयले बाध्य भएर रोकेको थियो । श्रेष्ठले अन्तमा आफ्ना विश्वासपात्र र आर्थिक जोहोको बाटो पहिल्याउने अधिकारीलाई भनेकै स्थानमा पु¥याउन सफल भएका हुन् ।

अधिकारी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए। श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाएका थिए ।

त्यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेर काम गरेका अधिकारीले ठूला करदाता कार्यालय र जिल्ला समन्वय समिति धनुषाको जिल्ला समन्वय अधिकारीको भूमिकासमेत निर्वाह गरेका थिए ।

गृहमन्त्रीको प्रतिक्रिया
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन काण्डका आरोपीलाई गृहमन्त्रीको संरक्षण’ शीर्षक समाचारप्रति आपत्ति जनाउनुभएको छ । गृहमन्त्री श्रेष्ठले झलकराम अधिकारीको आफूले संरक्षण गर्नुपर्ने कुनै कारण नभएको र सुन काण्डमा ज–जसको संलग्नता भेटिन्छ उनीहरुलाई कडा कारबाही गर्न निर्देशन दिएको बताउनुभयो । दृष्टिसँगको फोन वार्तामा गृहमन्त्री श्रेष्ठले सुवेदीको नेपाल ट्रष्टमा सरुवा भएको विषयमा आफूलाई थाहा नभएको जानकारी दिँदै उपरोक्त समाचारको खण्डन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्