Logo
Logo

आयल निगमको नियुक्तिमा बदनामहरुकै दौडधुप



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । गएको पुस ८ गते मन्त्रालयले रिक्त कार्यकारी निर्देशकका लागि विज्ञापन आह्वान गरेको हो ।

इन्धन खरिद बिक्री गर्ने निगमको कार्यकारी निर्देशक पद निकै आकर्षक मानिन्छ । सो पदका लागि गरिएको विज्ञापनमा १४ जनाले आवेदन दिएका छन् । बहालवाला उपसचिव चण्डिकाप्रसाद भट्टदेखि आमोदप्रसाद चौधरीसम्मले निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् । १४ दाबेदारमध्ये चण्डिकाप्रसाद भट्ट, इन्जीनीयर सहदेव चन्द, दिलीपशेखर श्रेष्ठ, उत्तरकुमार रेग्मी, माधव रेग्मी, बसन्तकुमार पाण्डे, डोलप्रसाद चापागाई, डोलिन्द्रप्रसाद शर्मासमेत निगमको नेतृत्वका लागि आवेदन दिएका छन् ।

अरबौको बार्षिक बजेट संचालन गर्ने निगमको नेतृत्वमा पुनः पुग्नका लागि चण्डिकाले देखाएको उत्सुकुतालाई भने विशेष चासोका साथ हेरिएको छ । यसअघि एक कार्यकाल निगमको कार्यकारी निर्देशक भएर कुनै क्षमता देखाउन नसकेका भट्ट भीमसेन गाउँपालिका वडा न १ गोरखाका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसम्मको दैलोमा उनी निगमको एमडी पाउँ भन्दै धाइरहेका छन् । खानी विभागका केमिकल इन्जीनीयर भट्ट विभागमा लामो समयदेखि दरबन्दी लियनमा राखी राज्यका बिभिन्न निकायमा नियुक्ति खाँदै हिँडेका छन् ।

स्थानीय पूर्वाधार विभाग(डोली)मा दरबन्दी राखेर दशकौंदेखि राजनीतिक पद हत्याउँदैआएका अनिलकुमार झा र भट्टले बर्षौ काम नगर्दा पनि उनीहरुको जागिरमा कसैले प्रश्न उठाउन सकेका छैनन् ।

झा उदयपुर सिमेन्ट कारखाना, जनक शिक्षा सामग्री केन्द्रमा दोस्रो कार्यकाल बिताउँदैआएका छन् । सार्वजनिक संस्थानको नेतृत्वका लागि आह्वान भएका हरेक सूचनामा आवेदकको सूचीमा झा र भट्टको नाम देखिएकै हुन्छ । झा पछिल्लो समय जनक शिक्षामा पुगेपछि आवेदन दिन छाडेका छन् । झा प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको समा प्रिन्टर्समा स्कुलका किताव छाप्न दिएर बीचौलियाका रुपमा जनक शिक्षामा बसेर कमिसन खान तल्लीन छन् । जनक शिक्षाका करोडांैका छपाई मेसिनमा खिया लागिसकेको छ । सयौं कर्मचारीहरु घाम तापेर बस्न बाध्य छन् ।

उता, चण्डिका भट्ट भने आयल निगमपछि अर्को सरकारी निकाय बिशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)मा दोस्रो कार्यकाल कार्यकारी निर्देशकका रुपमा लाख हाराहारी तलव भत्ता खाएर बसेका छन् । सेजको परिकल्पना अनुसार सिन्को नभाँची उनले कार्यकाल गुजार्दैआएका छन् । कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया नै रोकेर सेजको कार्यकारी निर्देशक खाइरहेका भट्ट आफ्नै कार्यकक्षमा सरकारी ल्यापटपबाटै उद्योगीहरुको स्कीम बनाउने र आईईको रिपोर्ट बनाउने गरेको आरोप छ । आईई स्वीकृत गर्ने अख्तियारी उद्योग विभागलाई मात्र छ । तर हुँदै नभएको अधिकार प्रयोग गरी भट्टले सेजमा रहेका उद्योगहरुको आईई स्वीकृत गर्ने काम गर्दैआएका छन् ।

उद्योगीको प्रोजेक्ट रिपोर्ट, आईई रिपोर्ट उनले बनाएको भन्दा फरक परामर्शदाताले बनाएर पेश गरेमा अस्वीकृत गरिदिने गर्ने गरेका छन् । जसले गर्दा सेजमा उद्योग स्थापना गर्न चाहने उद्योगीहरु उनीसँगै उनले भनेअनुसार रकम दिएर रिपोर्ट बनाउन बाध्य छन् । उनको कार्यशैलीका कारण भैरहवामा अहिले पनि आधा दर्जनभन्दा बढी उद्योग खुल्न सकेका छैनन् । सिमरा सेजको हालत उस्तै छ । सेजलाई कमाइखाने भाँडो बनाएर अकूत कमाएका उनै भट्ट अहिले आयल निगमको कार्यकारी निर्देशक ताकिरहेका छन् ।

राष्ट्रिय परिचयपत्र छपाईमा करोडौ घोटालामा मुछिएका बिचौलिया सुरेश घिमिरे बाहिर बाहिर चण्डिकालाई निगमको एमडी बनाउने भन्दै भित्रभित्रै सहरी विकास मन्त्रालयबाट अवकाश पाएका सहसचिव दिलीपशेखर श्रेष्ठसँग मोलतोलमा लागेका छन् ।

उद्योगमन्त्री रमेश रिजाल र सचिव मुकुन्द निरौलाले पनि आफूलाई निगमको एमडी बनाउन आश्वाासन दिइसकेकाले आफू नै नियुक्ति हुने हल्ला भट्टले चलाउन थालेका छन् । पछिल्लो समय सचिव निरौलासँग भट्टको बाक्लो उठबस हुँदैआएको छ । प्रतिस्पर्धामा रहेकामध्ये इन्जीनीयर सहदेव चन्दलाई निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने तर्क पनि बलियोसँग उठ्न थालेको छ । राष्ट्रबंैकका निर्देशक तहमा कार्यरत चन्दलाई निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने पक्षमा कांग्रेसकै एक तप्का लागेको छ । सहदेव शहीद दशरथ चन्दका सन्तान हुन् ।

निगमको एमडीका लागि आवेदन दिएका अर्का पात्र दिलीपशेखर श्रेष्ठलाई यसअघि निगममा काम गर्न नसकी राजीनामा दिएर हिंडेका उमेश थानीले शक्तिकेन्द्रमा लिएर हिंडेका छन् । थानी र बिचौलिया सुरेश घिमिरेको बलमा निगमको एमडी हुने दाउमा श्रेष्ठ छन् । श्रेष्ठ राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत रहँदा भूकम्प प्रभावित जिल्लाका १४ सय स्कुल निर्माणको कन्सलटेन्सीदेखि कन्स्ट्रक्सन कम्पनी छनोटमा सेटिङ गरी अथाह लाभ लिनेमा पर्दछन् ।

उनले इआरएमसी र खानी निर्माण सेवालाई सेटिङमा कन्सलटेन्सी र कन्ष्ट्रक्सनको अरबौंको ठेक्का सेटिङमा दिएर तत्कालीन सचिव अर्जुनकुमार कार्कीसँग मिलेर २० औं करोड घोटाला गरेको आरोप लागेको थियो ।

यसैबीच, जहाँ र जुन निकायमा नियुक्तिका लागि आवेदन मागिए पनि निवेदन दिइहाल्ने डोलिन्द्रप्रसाद शर्मा साझा प्रकाशन डुबाउने खलपात्र हुन् । उनले साझा प्रकाशनको महाप्रबन्धक हुँदा आफ्नै छापाखानामा किताव छपाएर संस्था डुबाएका थिए ।

प्रतिक्रिया दिनुहोस्