Logo
Logo

ललितपुरमा रहस्यमय बलात्कार घटना, कारको खोजी हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ फागुन ।
ललितपुरमा एउटा रहस्यमय घटनाको अनुसन्धान प्रहरीले अघि बढाएको छ । लिफ्ट दिने भन्दै एक कार चालकले महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको कार पहिचान भएको छ । प्रहरीले गरेको अनुसन्धानबाट आरोपीको कारको पहिचान भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले बताए । आरोपीको भने अझै पहिचान हुन सकेको छैन । उनले भने, ‘अनुसन्धान जारी छ । हामीले आरोपीको कारको पहिचान गरिसकेका छौँ । त्यसकै आधारमा आरोपीलाई केही दिनमै पक्राउ गर्नेछौँ ।’ अनुसन्धान चलिरहेकाले कारको थप विवरण सार्वजनिक नगरिएको उनले बताए ।

गत शुक्रबार बिहान २७ वर्षीय एक महिला बौद्धबाट (दिदीको कोठा) चापागाउँ माइती जाने क्रममा बलात्कारमा परेको उजुरी प्रहरी वृत्त सातदोबाटोमा परेको छ । सातदोबाटो चोकबाट एक महिलालाई अपहरणको शैलीमा कारमा चढाई बलात्कार गरेको निवेदनमा उल्लेख छ । २७ वर्षीया महिलाले कारचालकबाट बलात्कृत भएको निवेदन दिएको श्रेष्ठले बताए ।

मकवनापुर स्थायी घर भएकी महिला उपचारको क्रममा केही दिनअघि काठमाडौं आएकी थिइन् । ती महिला बौद्धबाट चापागाउँ जाने क्रममा गाडीबाट सातदोबाटोमा ओर्लिएकी थिइन् । जुत्ता बनाउन उनी केही समय सातदोबाटोमा रोकिएकी थिइन् । सोही बेला एउटा कारचालकले उनलाई गन्तव्यसम्म र्पुयाउने भन्दै बारम्बार बोलाएका थिए । तर, उनले आनाकानी गरेकी थिइन् । चालकले जबर्जस्ती कारमा राखेर अज्ञात स्थानमा र्पुयाएर बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्