Logo
Logo

सर्पोट नपाउँदा पछि परेकी छु- मीना लामा, अभिनेत्री तथा निर्देशक


- दृष्टि न्युज/संवाददाता


हिँड्दै जाँदा चौबाटोमा जोकोही अलमलिन्छन् । तर, गन्तव्यमा पुग्न एउटा बाटो रोज्नैपर्छ । यतिखेर मीना लामालाई यस्तै भएको छ । उनी मोडलिङ र अभिनयमात्र गर्दिनन्, गीत लेख्ने, गाउनेदेखि लिएर भिडियो निर्देशनसमेत गर्छिन् । झट्ट आफ्नो परिचय दिनसमेत उनी अलमलिन्छिन् । मीना भन्छिन्, ‘कलाका सबै विधामा सक्रिय छु । त्यसैले झट्टै म यही हो भन्नलाई गाह्रो छ ।’ आगामी दिनमा भने उनी एउटा विधालाई अँगालेर अगाडि बढ्ने सोचमा छिन् । ‘रहरले सबैतिर हात हालियो’ उनी भन्छिन्, ‘अबचाहिँ निर्देशनलाई प्राथमिकता दिनेछु । मेरो लक्ष्य भनेको कुसल निर्देशक बन्ने हो ।’ टेलिफिल्ममार्फत कलायात्रा प्रारम्भ गरेकी दोलखाकी मीना अभिनेत्री, मोडल, गीतकार, गायिका र निर्देशकका रुपमा चिनिन्छिन् । यसै क्षेत्रमा एक दशक बिताइसकेकी यिनै ‘भर्सटायल’ मीना लामासँग एमपी सुब्बाको जम्काभेट :

तपाइँ ‘भर्सटायल’ कलाकार हुनु हुँदोरहेछ ? कलायात्रा कहाँबाट सुरु गर्नुभयो ?

भर्सटायलभन्दा नि फरक पर्दैन । आफूसँग भएको कलालाई प्रस्तुत गर्नेक्रममा सबैतिर हात हालियो । जानेको र आफूमा भएको प्रतिभालाई त देखाउने प¥यो नि । टेलिफिल्ममार्फत कलाकारिता सुरुवात गरेकी हुँ ।

कुन टेलिफिल्मबाट सुरु गर्नु भएको नि ?

टेलिफिल्म ‘हर्के हवल्दार’बाट हो । त्यसअघि डकुमेन्ट्रीमा पनि अभिनय गरेकी थिएँ । ‘हर्के हवल्दार’पछि ‘झ्याइँकुट्टी झ्याइँ’, ‘घरबेटी बा’, ‘जय होस्’मा अभिनय गरेँ । अहिले ‘उल्टो सुल्टो’मा अभिनय गरिरहेकी छु । यो कमेडी टेलिफिल्म हो । इमेज च्यानलबाट प्रसारण भइरहेको छ ।

कलाकारिता सुरु गर्नुभएको कति भयो ?

सन् २०१० देखि हो । अहिले २०२० भनेपछि १० वर्ष भयो । तर, बिचमा विभिन्न कारणले केही समय ग्याप भयो । अब निरन्तरता दिनेछु ।

अभिनय गर्दागर्दै मोडलिङ र म्युजिक भिडियो निर्देशनमा किन लाग्नुभएको नि ?

मोडलिङ मेरो रहर हो । मोडलिङचाहिँ सन् २०१३ मा आएर गर्न थालेकी हुँ । म्युजिक भिडियोमा मोडलिङ गर्न थालेपछि धेरै प्रस्तावहरु आउन थाल्यो । तर, अरुको निर्देशनमा चित्त नबुझेपछि आफैँ निर्देशनमा उत्रिएकी हुँ ।

गीत पनि लेख्नुहुन्छ होइन त ?

लेख्छु । संगीत र गाउँछु पनि । गीतसंगीत सबैलाई मनपर्छ । संगीत भनेको सुख दुःखको साथी हो । गीतसंगीतले दुःख बिर्साइदिन्छ । त्यसैले मन बुझाउन गाएकी हुँ । तर, अहिलेचाहिँ अरुलाई गाउन दिन थालेकी छु ।

आफूलाई चिनाउने परिचय के हो ?

अभिनेत्री नै भन्दा ठीक होला । हुन त निर्देशन पनि १५/२० वटा गरिसकेकी छु । तर मलाई अभिनेत्री भनेको राम्रो लाग्छ ।

गीत सिर्जना, अभिनय र निर्देशन, यी तीन विधामा कुन गाह्रो ?

सबै गाह्रो । सजिलो भन्ने छैन । यी तीनै विधा फरक–फरक पाटो हुन् । तर, सबैभन्दा गाह्रोचाहिँ निर्देशन गर्ने काम हो किनकि, निर्देशकले सबै कुरा ‘ह्याण्डिल’ गर्नुपर्ने हुन्छ ।

तपाइँको प्राथमिकता केलाई हो ?

सबै विधामा मलाई रहर र इच्छा छ । गर्न सक्छु पनि । तर, एकजनाले चारतिर हात हाल्दा अल्मलिने रहेछ । त्यसैले निर्देशनलाई प्राथमिकता दिन थालेकी छु । अब मैले एउटा बाटो रोज्नुैपर्छ भन्ने लाग्न थालेको छ ।

फिचर फिल्म निर्देशन गर्ने सोच बनाउनुभएको छ ?

सोच किन नहोला र ? सबैलाई ठूलो काम गर्न मनपर्छ । तर, अहिले फिल्मचाहिँ होइन, टेलिफिल्म र डकुमेन्ट्रीका लागि भनेर स्क्रिप्ट लेखेकी छु । चाँडै निर्देशन गर्दैछु ।

तपाइँको ब्याक सर्पोट के छ ?

मलाई सर्पोट कहीँ–कतैबाट छैन । सर्पोट नपाएर नै पछि परेकी छु । अहिलेसम्म अगाडि बढ्न नसक्नुको कारण यही नै हो । तर, मेरो कोशिस जारी छ ।

सर्पोट र टिमविनै यत्रो आँट कसरी ?

महिलालाई टिम ह्याण्डिल गर्न गाह्रो छ । अरुको काम गर्नु सजिलो तर, टिम ह्याण्डिल गाह्रो काम हो । तैपनि अब टिम बनाउने प्रयासमा छु ।

पक्कै सिंगल नै होला । साथ दिन्छु भन्नेहरु कतिको आउँछन् ?

आउँछन् नि । काम गर्दै जाँदा धेरै मान्छेहरु भेटिन्छन् । तर, म अहिल्यै अफेयर्स चलाउँने मुडमा छैन । बिहे पनि अहिले गर्दिनँ, किनकि त्योभन्दा पहिले परिचय बनाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्