Logo
Logo

सेयर घट्यो, डलर बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ फागुन । अनुदारवादी अर्थशास्त्रीको छवि बनाएका युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्ति गरेपछि सेयर बजार ओरालो लागेको छ । दुई साताअघि खतिवडा राष्ट्रियसभाको सदस्य र अर्थमन्त्रीमा पुनः नदोहोरिने खबर बहिरिएलगत्तै पूँजीबजारमा एकाएक रौनक छाएको थियो । तर, फागुन तेस्रो साता खतिवडालाई प्रधानमन्त्रीले एकाएक अर्थमन्त्रीमा पुनः दोहो¥याएपछि सेयर बजारमा मन्दी छाएको हो ।

गतसाता पाँच दिन खुलेको सेयर बजार एक दिन मात्र सामान्य उकालो लागेको थियो । तर, बाँकी चार दिन ओरालो लाग्यो । दुई वर्षअघि अधिकांश प्रभावशाली नेतालाई पन्छाएर खतिवडा एकाएक अर्थमन्त्री बनेपछि पनि सेयर बजार लामो समयसम्म ओरालो लागेको थियो । पूँजी बजारको बारेमा व्यापक आलोचना भएपछि डेढ वर्षअघि अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रको प्रतिनिधि रहेको कार्यदलले पूँजी बजारको अध्ययन गरेको थियो । कार्यदलले दिएको सुझाव कार्यान्वयन गरेपनि युवराज खतिवडाकै नकारात्मक छविले सेयर बजार निरन्तर ओरालो लागेको पूँजी बजार विश्लेषक बताउँछन् ।

यसैबीच नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलरको भाउ अचाक्ली बढेको छ । गत आइतबार अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्चविन्दुमा पुगेको हो । राष्ट्र बैंकको विनिमयदरअनुसार अस्ति १ अमेरिकी डलरको बिक्रीदर ११८ रूपैयाँ ३२ पैसा पुगेको छ । यसअघि गत भदौमा अमेरिकी डलरको भाउ ११६ रूपैयाँ १६ पैसा पुगेको थियो । विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि लगानीकर्ताले सुरक्षित मुद्राको रूपमा अमेरिकी डलरमा लगानी गर्न थालेपछि विश्वका अधिकांश मुद्राको भाउमा एकाएक स्फितिको अवस्था देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्