Logo
Logo

मधेशमा जनमत पार्टीद्वारा प्रमुख प्रतिपक्षी दावी


693
Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित मान्यता दिन माग गरेको छ ।

जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनले दाबी गरेका छन् ।
हाल मधेश प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षी दल रहेको छ । २४ सांसद भएको सबभन्दा ठूलो दल एमाले सरकारमा सहभागी छैन । तर एमालेले सरकारलाई समर्थन गर्दै आएको छ ।

जनमत पार्टीले भने सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । प्रदेशसभामा १० प्रतिशत सदस्य रहेको र सरकारमा सहभागी नभएको दललाई प्रमुख प्रतिपक्षी दल हुने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ सांसद छन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी कानुन बमोजिम जनमत पार्टीले प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जिकिर गरेको छ ।

जनमतका संसदीय दलका नेता यादवले आफूहरूले प्रमुख प्रतिपक्षी दावी गर्नु स्वाभाविक रहेको बताएका छन् । एमालेले सरकारलाई समर्थन दिएकाले प्रमुख प्रतिपक्षी रहन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्