Logo
Logo

‘सुशासन र अधिकारप्राप्तिका विषयलाई सँगसँगै लैजानुपर्छ’



जनकपुरधाम । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सङ्घीयता कार्यान्वनका लागि सुशासन र अधिकार प्राप्तिका मुद्दासँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रदेशसभा स्थापनाको छैटौँ वार्षिकोत्सवका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उनीहरुले सङ्घीयतालाई सुदृढ गर्न जनताले अनुभूत गर्नेगरी सुशासन र अधिकार प्राप्तिको मुद्दासँगसँगै अगाडि बढाउनुपर्ने तथा त्यसका लागि सबै दल मिलेर जानुको विकल्प नभएको बताए ।

त्यस अवसरमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सङ्घीयता ल्याउन भूमिका निर्वाह गरेका राजनीतिक दलहरूले नै यसलाई जोगाउन लाग्नुपर्नेमा जोड दिए । उनले जनचाहनाअनुसारको विकास गरेमात्र सङ्घीयता बलियो हुने भन्दै सरकार र दलहरूलाई त्यसमा केन्द्रित हुन आग्रह गरे ।

मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा विकास र सुशासनका लागि सबै दललाई साथमा लिएर अगाडि बढ्न सुरुदेखि नै प्रयास गरिरहेको र अधिकार प्राप्तिका लागि सातै प्रदेशका मुख्यमन्त्रीसँग मिलेर आवश्यक दबाब सृजनाको काम पनि गरिरहेको बताए । उनले राम्रो काम गर्नका लागि आफ्नो नेतृत्वको सरकारलाई कुनै दबाब र प्रभावमा पार्ने काम आफूले कहिल्यै नगर्ने स्पष्ट पारे ।

‘प्रदेशको विकासका सवालमा मेरो नेतृत्वमा रहेर सबै दलका नेताले काम गरिसक्नुभएको छ । अहिले रहेका पाँच दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई पनि जनहितमा काम गर्न निर्देशन दिएको छु । अरूले पनि हामीलाई राम्रो कामका लागि सधैँ सहयोग गर्नुहोस्’, मुख्यमन्त्री यादवले भने, ‘बाँकी प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक अधिकारका लागि निरन्तर पहल गरिरहेको छु । प्रधानमन्त्रीलाई पनि निकै सकारात्मक पाएको छु । भोलिदेखि सुरु हुने संसद् अधिवेशनबाट ठोस काम हुने अपेक्षा गरेका छौँ ।’

सभामुख रामचन्द्र मण्डलले सरकारले संसद्मा ल्याएका विधेयकहरू निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सुशासन, विकास र जनहितका पक्षमा काम गर्न सरकारलाई आग्रह गरे ।

उपसभामुख बबिताकुमारी राउत इसरले प्रदेशसभाबाट बनेका कानुनको सहीरूपका कार्यान्वयन गर्दै जनअपेक्षा सम्बोधनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले पार्टी र मुख्यमन्त्री यादवको निर्देशनमा आफूहरू निरन्तर असल परिणाम प्राप्तिका लागि क्रियाशील रहेको बताए । आगामी बजेट, नीति तथा कार्यक्रमलाई अझ बढी विकासमा केन्द्रित गर्न आफूहरू सबैको सुझाव लिएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा स्थापनाको ६ वर्षको अवधिमा पहिलो कार्यकालमा ५५ विधेयक र दोस्रो कार्यकालको एक वर्षमा सातवटा विधेयक पेस गरेर तीनवटासहित ५८ वटा विधेयक पारित गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्