Logo
Logo

वैज्ञानिक वन कार्यक्रम रोक्न जरुरी : थापा


- दृष्टि न्युज/संवाददाता


धनगढी, २९ फागुन । कैलाली जिल्लामा लागू भएको वैज्ञानिक वन कार्यक्रम अवैज्ञानिक र भूगोल सुहाँदो नभएकाले यो कार्यक्रम तत्काल रोक्नुपर्ने कि त त्यसका गलत पक्ष र क्षेत्रलाई व्यवस्थित गरिनुपर्नेमा गत सोमबार धनगढीमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले वैज्ञानिक वनका विषयमा आफू सकरात्मक नभएको भए पनि आफ्नै दलका सांसद र केही विपक्षी दलका प्रतिनिधिहरुबाट वैज्ञानिक वन कार्यक्रमका विषयमा पक्ष र विपक्ष बनेर दबाब सिर्जना गर्ने काम भएको बताउनुभएको छ ।

मन्त्री भट्टले कैलाली र कञ्चनपुर जिल्लामा रहेका अधिकांश सामुदायिक वनमा लागू भइरहेको वैज्ञानिक वन कार्यक्रमलाई लागू नगर्नका लागि सामुदायिक वन उपभोक्ता महासंघबाट समेत दबाब आएको बताउनु भएको छ । वैज्ञानिक वन कार्यक्रमका राम्रा र राम्रा पक्षका बारेमा विज्ञहरु राखेर पार्टीको निर्देशनका आधारमा सुदूरपश्चिम प्रदेशमा वैज्ञानिक वन कार्यक्रमलाई लागू गर्ने वा नगर्ने विषयमा वन ऐन बनाएर अघि बढ्ने मन्त्री भट्टले बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री कर्णबहादुर थापाले वैज्ञानिक वनका नाममा अवैज्ञानिक तरिकाले हरियो वन माथि धावा बोल्ने गरी ल्याइएको वैज्ञानिक कार्यक्रमले कैलालीलगायत सुदूरपश्चिमको पर्यावरणमा ठूलो क्षति पुग्ने धारणा व्यक्त गर्नुभयो । छलफल कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैज्ञानिक वन बनाउने नीतिमा टेकेर हरियो वनमाथि वनमाफियाको ठूलो तप्का सक्रियतापूर्वक वन विनास गर्न लागिपरेकाले त्यस्ता गैरकानुनी र जनविरोधी कार्यलाई तत्काल रोकिनुपर्नेमा जोड दिनुभएको छ ।

वैज्ञानिक वन बनाउने नाउमा वनमा भइरहेको अस्वस्थ प्रतिष्पर्धा, सामुदायिक वनका पदाधिकारी देखि लिएर वन कर्मचारीहरुको मिलोमतोमा पर्यावरण माथीनै आघात पुग्ने गरि लागु भैरहेको वैज्ञानिक वन बनाउने कार्यले कदापी वन संरक्षण सम्भव नहुने पनि थापाले बताउनु भएको छ ।

उहाँले कैलाली जिल्लाका विभिन्न वैज्ञानि वन कार्यक्रम लागु भएका क्षेत्रमा स्थलगत रुपले अध्यय नगरी जनस्तरबाट वैज्ञानिक वन कार्यक्रमलाई स्वीकार नगरिएको पाएको र सिमित ठेकेदार र, वन माफिया र वन कर्मचारीको साँठगाँठमा लागू गर्न खोजिएकाले उक्त कार्यक्रमलाई थप अगाडी नबढाई गल्ती भएका कुराहरुलाई सुधारगर्दै अघि बढ्न पनि अध्यक्ष थापाले आग्रह गर्नु भएको छ । वन नीतिमा भएका
त्रुटि वा नयाँ वन ऐन ल्याउने सम्बन्धमा प्रदेश सरकारले आफ्ना कार्यहरुलाई अगाडि बढाएर लैजानुपर्ने आवश्यकता रहेको पनि थापाको भनाइ छ ।

सो अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य दीपकप्रसाद देवकोटाले कैलाली जिल्ला लागू भएको वैज्ञानिक वन कार्यक्रमले अवैज्ञानिक कार्यलाई बढी महत्व दिएको आफूले पाएको बताउनुभएको छ । कैलाली जिल्लामा रहेको वन सम्पदालाई संस्थागत रुपले विनास गर्ने कार्यलाई वैज्ञानिक वनमार्फत अगाडी बढाइएकोले यस्ता कार्यहरुले निरन्तरता पाईरहेको खण्डमा अवको केहि बर्ष भित्रै कैलालीको हरियो वन चरम संकटमा पर्ने दावी समेत देवकोटाले गर्नु भएको छ । धोद्रा, पुराना रुखहरु हटाएर माउ रुख राखेर नयाँ विरुवा पुर्न उत्पादन गर्ने भन्ने नीतिगत कुरमा केवल देखाउने दाँतमात्र भएको र स्थलगत रुपमा हेर्दा व्यवहारमा भने हरिया, मजवुत र बढी काठ संकलन हुनसक्ने रुखहरु मात्र कटानी गर्ने कार्य भएकोले वैज्ञानिक वनका नाममा अवैज्ञानिक कार्यहरु भएकाले तत्काल वैज्ञानिक वन खारेज हुनुपर्ने देवकोटाले बताउनुभएको छ ।

सो अवसरमा बोल्दै नेकपा कैलालीका अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश सभाका सदस्य एवं नेकपा कैलालीका अध्यक्ष रतन थापाले वैज्ञानिक वन कार्यक्रम आफैमा नराम्रो नभए पनि त्यसलाई लागु गर्ने तौर तरिका कस्तो हो भन्ने कुरा महत्वपूर्ण हुने बताउनु भएको छ ।

वैज्ञानिक वनले राष्ट्रिय आयमा ठूलो सहयोग गर्ने भएकाले यसको वैज्ञानिक रुपले कार्यक्रम लागु गरिनु पर्नेमा अध्यक्ष थापाको जोड रहेको छ । यस्तै कैलाली जिल्ला समन्वय समितिका प्रमूख सुर्य बहादुर थापाले कैलाली जिल्ला जडिबुटीमा धनी भएकाले यस क्षेत्रमा रहेका जडिबुटीहरु प्रशोधन गरेर विदेश निर्यात गर्न सकेको खण्डमा यसबाट रोजगारीका साथ–साथै राष्टिय आयमा पनि ठूलो टेवापुग्ने बताउनु भयो ।

नेकपाका नेता दिनेशचन्द्र सुवेदीले कैलाली जिल्लाका अधिकाँश उपभोक्ताहरु वैज्ञानिक वनको विरुद्धमा भएकाले वैज्ञानिक वन कार्यक्रम तत्काल खारेज हुनुपर्ने बताउनु भयो । उहाँले आम जनताको असन्तुष्टि रहेको र सिमिति व्यक्तिहरुले वैज्ञानिक वन बनाउने नाउँमा सोझा–साझा जनतालाई भुक्याएर राता–रात करोडपति बन्ने योजनाका साथ यो कार्यक्रम लागु गरिएको समेत सुवेदीले बताउनु भयो ।

चुरे वातावरण तथा जैविक विविधतता संरक्षण मञ्च नेपाल कैलालीका अध्यक्ष वीरेन्द्र बहादुर रावलले चुरे क्षेत्रकोको संवेदनशीलता माथीनै धावा बोल्नेगरी कैलालीमा लागु गरिएको वैज्ञानिक वन कार्यक्रम तत्काल खारेज हुनुपर्ने बताउनु भएको छ । उहाँले कैलालीको जैविक मार्गलाई नसर्ने गरी चुरे क्षेत्र केहि स्थानहरुमा वैज्ञानिक वन बनाउने कार्यलाई कदापी स्वकिार गर्न नसकिने बताउनु भयो । चुरे क्षेत्रको संरक्षण विना तल्लो तटीय क्षेत्रको अस्तित्व नरहने भएकाले वैज्ञानिक वन कार्यक्रम भूगोल र जनताको हित विपरित रहेको बताउनुभयो ।

सो अवसरमा बोल्दै सुदूरपश्चिम वन निर्देशनालयका वन निर्देशक हेमराज बिष्टले वैज्ञानिक वन कार्यक्रम आफैमा नराम्रो नभई कहीँकतै त्रुटि भएका छन् भने त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताउनुभयो । सो अवसरमा बोल्दै धनगढी वन डिभिजन कार्यालयका प्रमूख रामचन्द्र कँडेलले यस वैज्ञानिक वन बनाउने कार्यलाई नियमन गर्दै आगामी आर्थिक बर्षमा यसलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल गरेर नीतिगत रुपले अगाडी बढ्न सकिने र चालु कार्यक्रमलाई कसरी नियम संगत बनाएर अघि बढ्न सकिन्छ त्यस बिषयमा बिचार गर्नुपर्ने बताउनुभयो ।

वन डिभिजन कार्यालय पहलमानपुरकाप्रमूख कृष्णदत्त भटट्ले वैज्ञानिक वन कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक रुपले लागु गर्न सकेको खण्ढमा यसले राष्टिय आय र रोजगारीका अवसरहरु पनि प्रदान गर्ने बताउनु भएको छ । सो अवसरमा विभिन्न सारेकारवाला निकायका व्यक्ति वन कर्मचारीहरुका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्