Logo
Logo

कांग्रेसमा अनुशासनको खाँचो : देउवा


- दृष्टि न्युज/संवाददाता


नेपाली काँग्रेस तनहुँले आइतबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सभापति देउवा ।

दमौली, ६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ कांग्रेसले सोमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोलै उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुने बताए ।
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए । सबै एकजुट भएर अगाडि बढे कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए ।
महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको यो विधान कांग्रेस पार्टीको आत्मविश्वासको प्रतीक भएको बताए ।
तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले ‘सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले’ उसका क्रियाकलापविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए ।
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले आन्तरिक एकता नहुनु नै कांग्रेसको हारको मुख्य कारण हो भन्दै कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टीभित्रै एकता नहुँदा कांग्रेस आज यो अवस्थामा पुगेको बताए । तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधानअनुसार नभएकाले उनीहरुलाई बोलाएर छलफल गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्