Logo
Logo

उषा–जीपीको वैवाहिक सम्बन्धमा ‘फुलिस्टप’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ चैत । ठट्यौंलीमा एउटा भनाइ नै छ, ‘न खहरे भर छ, न त सेलिब्रेटी सम्बन्धकै’, यो ठट्यौंली सेलिब्रेटीहरुकै सम्बन्धलाई लक्षित गरेर बनाइएको हुनसक्छ । अधिंकाश कलाकार एवं सेलिब्रेटीको प्रेम र वैवाहिकसम्बन्ध ‘खहरेको पानी’जस्तै पाइन्छ किनिक, उनीहरुको सम्बन्ध कतिखेर टुट्छ पत्तै हुन्न । पूर्वमिस नेपाल उषा खड्की र सञ्चारकर्मी जीपी तिमल्सिनाको सम्बन्ध पनि यस्तै भएको छ । यो साता उषा र जीपीले करिब १७ वर्ष लामो वैवाहिकसम्बन्ध टुटाएका छन् ।

केही महिनाअघिसम्म आफूहरुको सम्बन्धमा कुनै दरार नभएको बताउँदै आएका यी दम्पतीको सम्बन्धविच्छेदको खबर एक्कासी मिडियामा भूषमा आगो सल्किएझै फैलियो । सम्बन्धविच्छेदको पहिलो जानकारी उषाले नै गराएकी हुन् । उषाले आफ्नो फेसबुक पेजमा ‘शारीरिक र मानसिक यातना सहन नसकेर अलग हुने निर्णय लिएको’ उल्लेख गरेपछि उनीहरुको सम्बन्धविच्छेदको हल्ला फैलिएको हो ।

हुन त १७ वर्षअघि उषा र जीपीले विवाह गरेदेखि नै सम्बन्ध सुमधुर रहन नसकेको बताइँदै आएको थियो । विशेषगरी अन्तरजातीय विवाह उनीहरुका लागि ‘कलह’ बनेको थियो । उक्त ‘कलह’ले दुई वर्षअघि नै उनीहरुको सम्बन्धमा ‘फुलिस्टप’ लाग्न लागेको हल्ला चलेको थियो । तर, उक्त कुराको उषाले खण्डन गर्दै आएकी थिइन् । तर, अहिले आएर उनीहरुले आफूहरुको सम्बन्धमा कानुनीरुपमै ‘फुलिस्टप’ लगाएका छन् ।

पति जीपीसँग सम्बन्धविच्छेदबारे उषाले फेसबुकमा लेखेकी थिइन्, ‘यदि तपाइँले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु नो ।’ साथै, उनले अलग रहेरपनि आफू र सन्तानका लागि लड्ने बताएकी छन् ।

उषाले फेसबुकमा लेखेकी छन्÷थिइन्, ‘तपाइँहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत अब म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ तर, यसबारे जीपी अहिलेसम्म केही बताएका छैनन् ।

उषा र जीपीले प्रेम विवाह गरेका हुन् । चिनजान भएको करिब दुई वर्ष प्रेमपछि उनीहरुले विवाह गरेका हुन् । उनीहरुको एक छोरा र एक छोरी छन् । सन् २००० मा ‘मिस नेपाल’ उपाधि जितेकी उषाले केही वर्षयता बुटिक व्यवसायी गर्दै आएकी छन् । उनको ललितपुरको कुपण्डोलस्थित उषाज स्टाईलिस कलेक्सन छ ।

प्रतिक्रिया दिनुहोस्