Logo
Logo

अचानक गायिका भएँ-अन्नु चौधरी, गायिका


- दृष्टि न्युज/संवाददाता


गायिका अन्नु चौधरी सानैदेखि गुन्गुनाउँथिन् तर, ‘गायिका हुन्छु’ भन्ने उनलाई लागेको थिएन । कैलालीमा थारु समुदायमा जन्मिएकी अन्नुका लागि ‘गीत रेकर्डिङ गर्नु’ टाढाको कुरा थियो । अझै यस्तै लाग्छ, ‘म आज कसरी गायिका भएँ होला’ । रहरले गुन्गुनाउँदा–गुन्गुनाउँदै थारु भाषा गीतमा चर्चित बनेकी २१ वर्षीया अन्नु भन्छिन्, ‘त्योबेला रमाइलोका लागि मात्र गाउँथे ।’ तर, अहिले उनी नेपाली गीतसंगीतमै व्यस्त छिन् । करिब तीन वर्षअघि अचानक नेपाली गायन क्षेत्रमा पाइला चालेकी अन्नुका दर्जनौँ गीत चर्चित छन् । डेढ सयभन्दा बढी थारु भाषाका गीत गाएर आफ्नो समुदायमा पहिचान बनाएकी अन्नु भन्छिन्, ‘यो ठाउँमा म अचानक आएकी हुँ ।’ छोटो समयमै आफूलाई स्थापित गराएकी अन्नुले आधा दर्जनभन्दा बढी फिल्मी गीतमा पनि स्वर दिइसकेकी छन् । ‘दुःखसँग सुख बाँडी’, ‘दुई मुटु’, मरे भनेँ मरेको पल’, ‘अलि अलि हँसाउँछु’जस्ता चर्चित गीतका गायिका अन्नु चौधरीसँग एमपी सुब्बाको जम्काभेट ।

गीत गाउन थाल्नुभएको कति भयो ?

म सानैदेखि गाउँथेँ । तर, काठमाडौं आएर गाउन थालेको चाहिँ तीन वर्ष जति मात्र हुँदैछ । यहाँ आउनुअघि कैलालीमै गाउँथेँ । तर, व्यवसायिकरुपमा चाहिँ यहाँ आएर गाउन थालेकी हुँ ।

कैलालीमा के गीत गाउनुहुन्थ्यो ?

थारु भाषाको गीतहरु बढी गाउँथे । अहिले पनि गाउँछु । मैले सानैदेखि आफ्नो भाषाका गीतहरु गाउँथेँ । म गाउन भनेपछि पहिलेबाटै हुरुक्कै हुन्थेँ ।

गायिका बन्ने सानैदेखि रहर थियो ?

त्यस्तो रहर थिएन । गीत गाउँथेँ, तर, गायिका हुन्छु भनेर सोचेकी थिइनँ । कसरी गायिका बन्ने अनि मिडियामा आउने भन्नेसम्म मलाई ज्ञान थिएन । त्यसैले म रमाइलो गर्न लागि गाउँथे । चर्चामा आउनलाई होइन ।

अहिले त चर्चामै हुनुहुन्छ नि ?

खै अलिअलि । अझै मिहिनेत गर्दैछु ।

सुरुमा काठमाडौं केका लागि आउनुभएको थियो ?

गीत रेकर्डिङ गर्नकै लागि आएकी हुँ । म कैलालीमै थिएँ । संगीतकार तथा गायक उत्तमजंग लिम्बूले कहाँबाट मैले गाएको सुन्नुभएछ । त्यसपछि मेरो फोन नम्बर खोजेर कल गर्नुभयो । ‘यति राम्रो गाउने मान्छे गाउँमै किन बसेको, काठमाडौं आऊ’ भनेपछि आएकी हुँ ।

अहिलेसम्म कति गीत गाउनुभएको छ ?

नेपाली गीतचाहिँ ४०/५० वटा पुग्यो । थारु भाषाका चाहिँ डेढ सयभन्दा बढी गाएकी छु । केही फिल्मका गीतहरु पनि गाएकी छु । नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘आरुशी’मा गाएकी छु ।

कस्ता गीत बढी गाउनुहुन्छ ?

प्रायः मेलोडियस गाउँछु । मलाई मनपर्ने पनि मेलोडियस नै हो ।

अहिलेचाहिँ थारु भाषाका गीत गाउनुहुन्छ कि हुन्न ?

गाउँछु नि । थारु भाषाका गीत त दैनिकजस्तै गाइरहेकी छु । नेपाली गीतसंगीतमा आउनुअघि म थारु गीतका लागि चिनिएकी हुँ । त्यसैले अहिले पनि थारु भाषा गीतका लागि धेरै अफर आउँछ ।

उमेर सानै छ । पढाइ कहाँ पुग्यो ?

मैले इन्टर कैलालीमै क्लियर गरेर आएकी हुँ । अब ब्याचुलर ‘ज्वाइन’ गर्ने सोचमा छु । पढाइ त छाड्नै भएन नि । त्यसैले पढाइ र संगीतलाई एकैसाथ अगाडि बढाउने सोचमा छु ।

फिल्म खेल्ने रहर छ कि छैन ?

अँह छैन, मलाई अभिनय र मोडलिङमा रुचि छैन । थारु फिल्मको लागि प्रस्तावहरु आउँछन् । तर, म फिल्मका काम गर्दिनँ । आफ्नै म्युजिक भिडियोमा समेत मोडलिङ गर्दिनँ ।

प्रतिक्रिया दिनुहोस्