Logo
Logo

बिनाकारण डाक्टर थुनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै विवादपनि बढेको छ । आयोगको नेतृत्व नवीन कुमार घिमिरेले लिएपछि रंगेहात पक्राउदेखि मुद्दा दायरको घटनामा नयाँ रेकर्ड कायम भएको छ । केही ठूला मुद्दाहरु समेत दायर भएका छन् ।

भ्रष्टाचारविरुद्धको कारबाहीले तिव्रता पाएपछि आयोग विवादमुक्त भने हुन सकेन । बालुवाटार जग्गा प्रकरणमै सर्वाेच्च अदालतका न्यायधीश कुमार रेग्मी र विष्णु पौडेलका छोरा नवीनलाई मुद्दा नचलाउने निर्णय गर्दा आयोगको महत्वपूर्ण काम छायामा प¥यो । ठूलालाई जोगाउने तथा सानामाथि अत्याचार गर्ने गरेको आरोपमा आयोगमाथि लाग्ने गरेको छ ।

कतिपय अवस्थामा त्यस्तै देखिन्छ । सिपाहीको तलबमा भ्रष्टाचार गरेकोमा सई र असईलाई आयोगले थुनामै राखेर मुद्दा चलायो । तर, पूर्व डिआइजी महेश बिक्रम शाहलाई भने फरार बनाइयो ।

त्यस्तै कतिपय निर्दाेष व्यक्तिहरुलाई समेत आयोगले थुनामा राखेर यातना दिएको समेत पाइएको छ । बुटवलस्थित प्रदेश अस्पतालका कार्यरत डा दुर्गा सुर्खालीलाई आयोगले बिना कारण २५ दिन थुनामा राखेको खुलेको छ ।

जिल्ला अस्पता जुम्लामा हुँदा चलखेलका आधारमा मेडिकल रिपोर्ट बनाइएको आरोप उनीमाथि लाग्यो । जसमा उनीमाथि २५ दिन हिरासतमा राखेर अनुसन्धान गरियो । अन्तिममा उनको गल्ती नदेखिएपछि छाडिएको थियो ।

आयोगले उनलाई निलम्बन गरेर थप छानबिन गर्न नेपाल मेडिकल काउन्सिललाई समेत निर्देशन दियो । काउन्सिलले डा हरिहर वस्तीको नेतृत्वमा छानबिन ग¥यो । छानबिन गर्दा डा. सुर्खालीको कुनै गल्ती भेटिएन । बिनागल्ती आयोगबाट उनले यातना पाए ।

विगतमा कुनै व्यक्तिमाथि अपराध गरेको शंका लागेमा प्रहरीले पक्राउ गरेर थुनामा राखी यातना दिने गर्दथ्यो । यस्तो अवस्थामा प्रहरीकै जागिर जानेपछि अहिले यस्ता घटना कम भएका छन् । तर, अख्तियार भने प्रहरीको बाटोमा लागेको छ । शंकाकै आधारमा अनुसन्धानका नाममा दुःख दिने प्रवृत्ति आयोगमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्