Logo
Logo

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने त्यो अधुरो सपना



काठमाडौं । नेपाली गीत, संगीतका क्षेत्रमा संगीतसम्राटका रुपमा सम्झिने गायन, संगीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने । तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।

उनको आज ८६औं जन्मजयन्ती मनाइरहँदा संगीत साधकहरूले त्यही कुरालाई घच्घचयाइरहेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा सोमबार उनको योगदानको सम्मानमा वरिष्ठ संगीतकर्मीबीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका संगीतकार हुन् अम्बर गुरुङ। सोमबारको कार्यक्रममा उनको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन्। गुरुङसँग १५ वर्ष काम गरेका दीपक जंगम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उनको सच्चा सम्मान हुने बताउँछन् ।

उनले गुरुङ नेपाली गीत, संगीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रूपमा सम्झिए । ‘नेपालमा पनि गीत, संगीताका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छ,’ उनले भने ।

विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थियो। उनका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत जानुभएको थियो । उनका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए । उनको पुर्ख्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका संगीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे। ‘अम्बर दाइको आफ्नै गायन, शब्द र संगीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला… ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्काे उहाँकै शब्द र संगीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ,’ उनले सम्झिए ।

अम्बर गुरुङलाई संगीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उनीसामु संगीत भर्न अनुरोधका लागिभन्दा पनि उनका कुरा सुन्न जाने गरेको सुनाए । गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा…’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्काे आयामका रुपमा बुझ्नुपर्ने उनले उल्लेख गरे । उनले गुरुङलाई संगीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गरे ।

‘त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइ एउटा गीत होइन जुनसुकै गीत, संगीत हेर्नुहोस् कस्तो छ,’ उनले भने ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउँछन् । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत व्यक्तिहरुले गीत गाउन लगाएर उनलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने बताउँछन् । त्यो बेला उनलाई धेरैले बिर्सिएको अनुभव उनले सुनाए ।

पुराना दिग्गज व्यक्तित्वलाई बिर्सन हुन्न भनेर आज यो कार्यक्रम गरिएको र यसअघि बालकृष्ण समलाई पनि स्मरण गरिएको उनले सुनाए ।

कुलपति शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा संगीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाए । उनले भने, ‘आउनूहोस्, छलफल गरौं, बसौं, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऔं, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पूरा गर्न सकिन्छ ।’

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको पनि सुनाए ।

गुरुङको ८६औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, संगीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत–संगीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उनको सपना पूरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औंल्याए ।

कार्यक्रममा गायक तथा संगीताकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ…’, वरिष्ठ संगीतकार एवं गायिका संगीता प्रधानले ‘कति सम्हालौं चोटहरु…’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला…’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गरेका थिए । –रासस

प्रतिक्रिया दिनुहोस्