Logo
Logo

आजदेखि फिल्महलमा चलचित्र ‘अगस्त्य’



काठमाडौं । आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गरेका छन् ।

उनले चलचित्रका पात्रहरू अगस्त्य ऋषि झैँ शारीरिक र मानसिकरुपमा बलिया रहेको बताए । ‘यो हाम्रो समाजको नभनिएको कथा हो । मेरो प्रस्तुतिको शैली विदेशी चलचित्रको झैँ देखिए पनि यसको विषयवस्तुमा धेरै भिन्नता छ । हामीले समाजमा देखिरहेको तर पर्दामा नदेखेको कथा हो’, निर्देशक चौधरीले भने । चलचित्रमा अभिनेता सौगात मल्लले निर्वाह गरेको भूमिका चर्चामा छ । उनले चलचित्रका लागि २० किलो तौल घटाएका थिए ।

‘मलाई शारीरिकरुपमा तयार गर्न समस्या छैन । मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनका क्रममा खानपिनमा ध्यान दिए । तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन गाह्रो भयो । त्यसका लागि त्यस्तै किसिमको पात्र खोजेर दिनचर्या नियालेर भूमिका निर्वाह गर’, अभिनेता मल्लले भने । चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्