Logo
Logo

‘रङ्गेली’ले पायो सेन्सर प्रमाणपत्र



काठमाडाैं । ‘रङ्गेली’नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र दिन अस्वीकार गरेको विषयमा चौतर्फी विरोध भएपछि आइतबार बिहान बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ ।

निर्देशक अर्जुन सुवेदीले स्थानीय निकायको स्वीकृति पत्र बिनै फिल्मलाई प्रमाणपत्र दिएको जानकारी दिए । फिल्मले पीजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । प्रमाणपत्र पाएसँगै अब ‘रङ्गेली’लाई प्रदर्शनको बाटो खुलेको छ ।

सेन्सरले फिल्मको आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेपछि फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत् विरोध गरेका थिए । फिल्मकर्मीहरूको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई सहज रूपमै प्रमाणपत्र दिएको हो ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह-निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईं हुन् ।

प्रतिक्रिया दिनुहोस्