Logo
Logo
समाचार टिप्पणी

सबैभन्दा बढी खुशी गगन र दुःखी देउवा



काठमाडौं । गएको फागुन ८ गते ललितपुरको गोदावरीमा चलेको कांग्रेस महासमिति बैठकमा कांग्रेस महामन्त्री रहेका गगन थापाले आवधिक निर्वाचनमा निर्वाचन पूर्वको गठबन्धन गर्नु नहुने भन्दै प्रतिवेदन नै पेस गरे । त्यो बैठकमा थापाले प्रस्तुतिका क्रममा अधिकांश समय गठबन्धनविरुद्ध खर्चिएका थिए ।

उपनिर्वाचनको पूर्व सन्ध्यामा आएको उक्त प्रतिवेदनले माओवादी केन्द्रलाई यसै पनि झस्काएको थियो । त्यसअघि गत फागुन ३ गते कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्न नहुने प्रस्ताव गरे ।

कांग्रेस महामन्त्रीको हैसियतले बैठकमा सांगठानिक प्रतिवेदन पेस गर्ने क्रममा थापाले यस्तो प्रस्ताव गरेका थिए । चुनावअघिको गठबन्धन ‘प्रि इलेक्सन एलाइन्स’ कांग्रेसका लागि हानिकारक रहेको निष्कर्ष थापाको थियो ।

कांग्रेस बैठकमा उनले माओवादी केन्द्रलगायतसँगको गठवन्धनकै कारण २०७४ बाट २०७९ को आम चुनावसम्म पुग्दा प्रतिनिधिसभा चुनावमा कांग्रेसको लोकप्रिय मतमा ७ प्रतिशतले ह्रास आएको भन्दै तीव्र असन्तुष्टि पोखेका थिए ।

माओवादी केन्द्र मात्र नभै गठबन्धनमा सामेल अन्य दललाई समेत बिच्काउने गरी पार्टी महामन्त्रीको आधिकारिक प्रस्ताव आएपछि सन्देह उत्पन्न हुँदै आएको थियो ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीका उम्मेदवार चम्पादेवी कार्कीको पराजय र त्यसअघि माओवादीका उम्मेदवारलाई पराजित गरी कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन पनि सबैभन्दा बढी गगन–शेखर ‘फ्याक्टर’ले काम गरेको घटना अझै सेलाएको छैन । सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि गगन–शेखर समूहले कांग्रेसका ८ सांसदसहित एमालेसँग समीकरण बनाएर मुख्यमन्त्री बनाउने भित्री डिजाइन रचेको थियो ।

यता, गत पुस १४ गते भक्तपुरमा आयोजित कांग्रेसको एक कार्यक्रममा थापाले थप उत्तेजक भाषण दिए । त्यो कार्यक्रममा थापाले चेतावनीको भाषामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारबाट खुमलटार पु¥याउन सक्ने तागत रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले गरेका कामप्रति असन्तुष्टि पोख्ने क्रममा बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको बताएका थिए । ‘कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको हो । कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन सक्नुहुन्न । हामीले जुन दिन चाहँदैनौँ नि बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको छ,’ थापाले त्यो कार्यक्रममा भनेका थिए ।

गठबन्धन भाँड्ने यी प्रकरण थाती रहेकै अवस्थामा फेरी अघिल्लो शुक्रबार पनि थापा प्रधानमन्त्री प्रचण्डप्रति थप आक्रामक भए । थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री प्रचण्डको तजबिजमा चलेको आरोप लगाए । ‘सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परिसानी गर्ने माध्यमको रुपमा काम गरेको बुझिन्छ । मुद्दा हेर्ने विषयमा मोलमोलाइ हुन्छ भन्ने सुनिन्छ,’ थापाको आरोप थियो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै थापाले प्रधानमन्त्री प्रचण्डविरुद्ध यस्तो आरोप लगाएका थिए । राजनीतिक दलको प्रतिस्पर्धामा यी शक्तिशाली निकाय प्रयोग भएको प्रमाण आफूसँग रहेको दाबीसमेत थापाको थियो ।

राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा अप्ठ्यारो भएको विषयमा समेत प्रधानमन्त्री प्रचण्डसँग जानकारी समेत मागे । थापाले भनेका थिए, ‘बेनामी उजुरीको आधारमा जो कसैलाई दुःख दिने माध्यमको रुपमा काम भइरहेको छ । यी दुई निकायहरू प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने कारण कानुनी रुपमा चल्नेभन्दा पनि कार्यकारी शक्ति हुनेहरूले हतियार बनाएको भन्ने आरोप छ ।’

यसरी थापा माओवादी केन्द्र, प्रधानमन्त्री प्रचण्ड र गठबन्धनविरुद्ध खुलेआम उत्रिएका केही दृष्टान्त मात्र हुन् । एकपछि अर्को गर्दै श्रृंखलाबद्ध रुपमा जाइलागेपछि कांग्रेसको नियतबाट नै माओवादी तर्सिएको थियो । जसका कारण माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड क्रमशः चिढिँदै गए । अन्ततः ‘हुनु हार, दैव नटार’ भने जस्तै गठबन्धन टुक्रियो । यसमा सबैभन्दा बढी खुशी थापा र दुःखी देउवा भएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्