Logo
Logo

देवीको दर्जाभित्र लुकेको दैत्य प्रवृत्ति


663
Shares

पूर्वीय दर्शनले सीता, लक्ष्मी, दुर्गा, राधा, पार्वती, जानकीजस्ता नामका नारीलाई देवी मान्दछन् । यी देवी देउताका मूर्ति र मन्दिरहरू यत्रतत्र र सर्वत्र छन् । बगरको बालुवादेखि रूखको पालुवासम्म गतिशील छ । सारा दुनियाँ भौतिकवादी छ ।

विज्ञानलाई भन्दा धार्मिक मान्यतालाई बढी विश्वास गर्ने विश्व दुनियाँ द्वन्द्वात्मक भौतिकवादमै बाँचिरहेको छ । तर, बुर्जुवा र रूढीवादी प्रथा, परम्परा, मूल्य, मान्यतालाई अँगाल्न भने छोडेको छैन । विज्ञान अन्तिम सत्य हो भन्ने जान्दाजान्दै पनि समाज यसरी अन्धविश्वासको सिकार बनिरहनुको समाजशास्त्र छ ।

बौद्धिक समाजले महिला हिंसाविरुद्ध लिखतमा कथा, कविता, गीत र उपन्यासमात्रै लेख्ने हो कि नारीवादी चेतना निर्माणका निम्ति सार्थक अक्षर कोर्ने हो ? भन्ने आम प्रश्नका बीचमा यस स्तम्भमा देवीको दर्जाभित्र लुकेको नाङ्गो हिंसाका बारेमा चर्चा गरिने छ ।

एक दम्पतीका लगातार तीन जना छोरीहरू जन्मिन्छन् । दोस्रो सन्तानका रूपमा छोरी जन्मिएदेखि नै श्रीमान्ले छोराको सपना देख्न थाल्छन् । तेस्रो पटक पनि श्रीमतीको गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतनका लागि दबाब दिन्छन् । तर, श्रीमतीले अस्वीकार गर्छिन् र अर्को पटक पनि छोरी रहेको खण्डमा गर्भपतन गर्ने बाचा गर्छन् ।

चौथो पटक, श्रीमती गर्भवती बन्छन्, श्रीमानले मेरिस्टोप लैजान्छन् । चौथो पटक गर्भमा जुम्ल्याहा सन्तान हुन्छन् । छोरी पहिले जन्मिन्छन् । छोरा केही समयको अन्तरालमा जन्मिन्छन् । समय अन्तरालको कारण चौथो छोरीपछि छोरा जन्मियो भन्ने अर्थ लाग्छ ।

कथा यतिमै सकिँदैन । पुरुषवादी चेतनाले महिलालाई पाँचौँ सन्तानका रूपमा छोरा जन्माएको आरोप लगाउँछन् । तर, जुम्ल्याहा नानीबाबु हुर्किँदै जान्छन्, बुझ्ने उमेर भएपछि गर्भको कहानी थाहा पाउँछन्, चौथो छोरीले यो संसारको सबैभन्दा भाग्यशाली मान्छे ठान्छन् । भाइलाई आफूभन्दा बढी प्रेम गर्छिन् । किनकि, भाइको कारण उनी जन्मिएका थिए । यस्तै यथार्थ कथाहरू हाम्रासामु छन् । जसलाई तन्काउने हो भने स्तम्भ मात्रै होइन, मार्मिक उपन्याससमेत बन्न सक्छन् ।

खैर, महिलाहिंसाविरुद्धका शारीरिक मानसिक, सामाजिक, आर्थिक, राजनीतिक रङ्गहरू र अनेकौँ तनावहरू छन् । हिंसा आफैमा अमानवीय त हुँदै हो त्यसैमा कानून वर्जित पनि छ । यति जान्दा जान्दै पनि तराईमा दाइजो नदिएको झोकमा देवीको दर्जा दिएका नारीहरूलाई मट्टितेल खन्याएर जलाउने काम भइरहेका छन् । बोक्सीको आरोप महिलाहरू मारिनु परेको छ ।

त्यस्तै पश्चिम नेपालमा छाउपडी प्रथाका कारण महिलाहरूले अनाहकमा ज्यान गुमाउनु परिरहेका छ । गाउँदेखि सहरसम्म छाउपडी प्रथाले जरा गाढेको छ । यसरी हेर्दा हाम्रो समाज बुर्जुवाबाट माथि उठ्न सकिहरेको देखिँदैन ।

यता, भौतिकवादी लेन्सबाट हेर्दा देउता/भगवान्भन्दा महिनावारी कयौँ गुणा पवित्र कुरा हो । यस्ता सत्य र यथार्थ कुराहरूलाई नजरअन्दाज गरेर समाज जबसम्म चल्छ, तबसम्म समाजले काँचुली फेर्न सक्दैन । यहाँ टाउकोले टेकेर हिँडिरहेका र खुट्टा टेकेर हिँडिरहेका मान्छेबीच प्रतिस्पर्धा चलिरहेको छ ।

अचम्मको कुरा त के भने, खुट्टाले हिँडिरहेकाहरू पनि सद्भावी बन्ने नाममा बेलाबेला टाउकोले टेकेर हिँड्ने मूर्खता गरिरहेकोसमेत देखिन्छ । कम्युनिष्ट पार्टीका शीर्ष नेता आफूलाई खाँटी कम्युनिष्ट भन्छन् । तर, दक्षिणतिर जाँदा जोगी बन्छन् ।

उत्तरतिर जाँदा भेष बदल्छन् । यस्तो अन्तर्विरोधका बीच नेपाली कम्युनिष्ट नेताहरू बाँचिरहेका छन् । सद्भावी बन्न खोज्नाले समाजमा नेतृत्व स्खलित हुने, असफल हुने खतरा बढ्छ । नारीवादी मुखले बनेर हुँदैन । विभेद अन्त्य भाषणमा भएर हुँदैन । समानता कानुन र कागजमा भएर हुँदैन । समाजवादका गफ हानेर समाजवाद आउँदैन । विचारअनुसारको व्यवहार नगरेसम्म समाजको रूपान्तरण हुन सक्दैन ।

विश्वका महिला साथीहरू यतिबेला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने काममा व्यस्त छन् । ‘महिलामा लगानीः सभ्य समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ आफ्नो शरीर र श्रमको हक, अधिकार र कर्तव्यलाई पूरा गर्ने प्रणका साथ नारीहरूले नाराबाजी गरिरहेका छन् ।

८ मार्च महिला आन्दोलनका निम्ति निकै महत्त्वपूर्ण दिन हो । सोही दिनलाई लक्षित गरी महिला हिंसा अन्त्य, श्रमको मूल्य निर्धारण गर्नका निम्ति विभिन्न कार्यक्रम भइरहेका छन् ।

महिला हिंसा अन्त्य र श्रमको उचित मूल्यका निम्ति भइरहेका कार्यक्रमहरू कहाँ हुनुपर्छ, कहाँ भइरहेका छन्, कस्ता–कस्ता महिलाहरूका निम्ति कार्यक्रमहरू आयोजना गरिनुपर्थ्यो, भन्ने कुरा फरक विश्लेषणको पाटो हो ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भए । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरेका थिए ।

महिला हकअधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीका मार्क्सवादी नेता क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेका थिए । जसलाई सम्मेलनले पारित ग¥यो । सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालिएको थियो ।

अन्त्यमा, आजका नारीहरू चुल्होदेखि चौतारासम्म, घरदेशदेखि प्रदेशसम्म छाइरहेका छन् । यसरी आधा आकाश, आधा धर्ती ढाकेका र कठोर श्रम गरिरहेका महिला श्रमिकहरूको अवस्था पहिलोको जस्तो त छैन । तर, जति अवस्था बदलिनुपर्थ्यो त्यति भएको छैन । अर्कातिर सामाजिक चेतना पनि केही बदलिएको छ । आगामी दिनमा पनि बदलिँदै जाने निश्चित छ । यो दुनियाँको सार्थकता भनेको प्रेमसँग जोडिएको छ ।

कुनै समय महिलालाई उपभोग्य वस्तुको रुपमा लिइन्थ्यो भन्दैमा आजका दिनमा केही पुरूषहरू आफ्नो श्रीमतीमाथि अन्याय गरेको पनि देखिन्छ । श्रीमती बनाएर ल्याएको महिलालाई घरको कामदार, दास वा सेवकभन्दा माथि नदेख्ने र सुत्केरी भएको बेलामा समेत रात खोज्नेहरू छन् । साथ र राहत दिनुपर्ने अवस्थामा रात खोज्नेहरूलाई मान्छे भनिरहनु पर्दैन ।

साथै, महिलाले पनि श्रीमान् हो, बच्चा छन्, समाज छ भन्ने खालका सद्भावी भावना राखेर हिंसा सहने होइन । आफूमाथि अन्याय भयो भने जोडले बोल्नुपर्छ । विगतको अवस्था र आमाहरूले खेपेको पीडा, वेदना, अन्याय, अत्याचार, शोषण र दमनहरू आज दोहोरिन थाल्छन् भने त्यसका विरुद्ध सशक्त प्रतिवाद गर्नुपर्छ ।

आफूमाथिको अन्याय सहेर होइन, डटेर लड्नुपर्छ । महिलाको महिमासँग पुरुषलाई तुलना गर्नु महिलामाथिको अपराध हो । सार्थकता अभिन्न भए पनि महिलाको महिमा पुरुषभन्दा माथि छ । जस्तो असंख्य रूपमा रहेका जीवमध्ये मानिस सर्वश्रेष्ठ प्राणी मानिन्छ ।

यहीँनेर जोड्ले भन्छु, मानिसमध्येमा पनि नारी उत्कृष्ट हुन् । बलियाहरूको हलिया वा दास भएर बाँच्नुपर्ने अवस्था अन्त्य आजको आवश्यकता हो । आजका दिनमा यस्ता घटना छिटपुट रूपमा देखिन्छ । जसको अन्त्य गर्न यस दिवसले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको देख्न पाइयोस् । अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२४ को हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्