Logo
Logo

अपराध बन्दै विवाहेत्तर सम्बन्ध



घटना– १ : फागुन ९ गते काठमाडौं नागार्जुनमा एक पुरुषले श्रीमती, छोरी र नातिनीको हत्या गरी आत्महत्या गरे । ३७ वर्षीय काजी विश्वकर्माले श्रीमती प्रेमकुमारी श्रेष्ठ, छोरी ८ वर्षीया अनिशा र नातिनी २ वर्षीया सिवाना श्रेष्ठको हत्या गरी आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले एउटा भिडियो पनि बनाए । भिडियोमा श्रीमतीको विवाहेत्तर सम्बन्धले हत्या गरेको बताएका छन् । विवाहेत्तर सम्बन्धको आशंकाले एकै परिवारका चार सदस्य मारिए ।

घटना– २ : फागुन ४ गते झापामा २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरीसहित आत्मदाह गरिन् । आफूलाई आगो लगाएपछि शरीरको अधिकांश भाग जलेको अवस्थामा उनलाई अस्पताल पु¥याइको थियो । छोरीको त्यही दिन मृत्यु भयो । केही दिनपछि उनको पनि मृत्यु भयो । उनको ‘सुसाइट नोट’ मा पति परस्त्रीसँग सम्बन्धमा रहेको कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख थियो ।

घटना– ३ : गत फागुन ३ गते दाङमा ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार भयो । धनमायालाई उनकै श्रीमान् सहायक हवलदार यमबहादुर झाँक्रीले गोली हानेका थिए । श्रीमतीलाई गोली हान्नुअघि झाँक्रीले लेखेको एउटा पत्र पनि भेटियो । पत्रमा श्रीमतीको परपुरुषसँग सम्बन्धमा रहेको र आफ्नो घरबार भत्किएको उल्लेख छ । उनको पत्रमा श्रीमती खत्री थरको केटासँग लागेको र त्यो केटा मिलेर सम्बन्ध विच्छेदको मुद्दा हालेको पनि उल्लेख छ ।

घटना–४ : माघ २७ गते काठमाडौंको गौशलाको एक होटेलमा रामेछापको लिखु–६ की २८ वर्षीया प्रमिला दमाई मृत फेला परिन् । अनुसन्धानको क्रममा उनी दोलखाको बैतेश्वर– ७ का कुमार श्रेष्ठसँग विवाहेत्तर सम्बन्धमा रहेको खुल्यो । घटनाको कारण विवाहेत्तर सम्बन्धमा खटपट रहेको प्रहरीले निष्कर्ष निकाल्यो ।

भनिन्छ, श्रीमान्–श्रीमती एउटै रथका दुई पाङ्गा हुन् । तर, विवाहेत्तर सम्बन्धका कारण यी दुई पाङ्गासँगै घुम्नै नसक्नेगरी बिग्रिन थालेका छन् । संसारमा कुनै कानुनले छेक्न र रोक्न नसक्ने कुरा मन हो । व्यक्तिको इच्छा हो । यसको व्यवस्थापन गर्ने स्वयं व्यक्तिले गर्ने हो ।

घटना– ५ : माघ ७ गते काठमाडौंको स्वयम्भूस्थित शोभाभगवतीमा ५१ वर्षीया सफिना मियाँको शरीर सडिएको अवस्थामा फेला पर्यो । सफिनाको हत्या आरोपमा प्रहरीले प्रेमी भारत विहारका इकरामुल हक अन्सारीलाई पक्राउ गर्यो । अनुसन्धानको क्रममा उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको खुल्यो । सम्बन्धमा खटपट भएपछि हत्या गरेको अन्सारीले बयान दिएका थिए ।

यी पाँच घटना पछिल्लो प्रतिनिधिमूलक घटना मात्रै हुन् । यसले विवाहेत्तर सम्बन्ध अपराध बन्दै गएको पुष्टि हुन्छ । भनिन्छ, श्रीमान्–श्रीमती एउटै रथका दुई पाङ्ग्रा हुन् । तर, विवाहेत्तर सम्बन्धका कारण यी दुई पाङ्ग्रासँगै घुम्नै नसक्नेगरी बिग्रिन थालेका छन् ।

विवाह यौनको वैधानिकता मात्रै होइन । दुई व्यक्ति एक हुन हो । विवाहलाई पवित्र नाता मानिन्छ । श्रीमान्–श्रीमतीलाई जीवनसाथी भनिन्छ । जिन्दगीभर साथ दिने वाचा–कसम खाएका हुन्छन् । तर, क्षणिक शारीरिक भोक पूरा गर्न विवाहेत्तर सम्बन्धमा रहँदा सबै तहसनहस हुन्छ । जब विवाहित व्यक्ति अर्कोसँग शारीरिक र मानसिक रूपले जोडिन्छ, त्यो निकै घातक हुन्छ ।

आफ्नो सम्बन्ध उदासीन भएपछि उनीहरू विवाहेत्तर सम्बन्धमा बस्ने गरेको पाइन्छ । पार्टनर चित्त नबुझ्दा, पार्टनरको व्यवहार मन नपर्दा, पार्टनरप्रति घृणा पैदा हुँदा विवाहेत्तर सम्बन्धमा रहन सक्छन् । त्यस्तै एकअर्काप्रति विश्वास नहुँदा, जबरजस्ती परिवारले विवाह गरिँदा, पाट्नरलाई समय दिनै नसक्ने गरी व्यस्त हुँदा र दम्पती एकअर्काबाट टाढा रहँदा यस्तो सम्बन्ध रहन सक्छ ।

नेपालको ५५–६० लाख जनसंख्या विदेशमा भएको बताइन्छ । त्यसको ९० प्रतिशत विवाहित छन् । तिनका बैंसालु श्रीमान/श्रीमती स्वदेशमै छन् । यस्ता व्यक्ति बढी विवाहेत्तर सम्बन्धमा रहने गरेको पाइन्छ । त्यस्ता सम्बन्ध गुपचुप हुँदा ठिकठाक हुन्छ । जब बारिहन्छ, परिवार नै तहसनहस हुन्छ । रेमिट्यान्सले देश विकासभन्दा धेरै सम्बन्ध विनाश गरिरहेको छ ।

विवाहेत्तर सम्बन्ध पश्चिमाकरणको अन्धो नक्कल हो । विदेशी संस्कारमा यो ठूलो कुरा होइन । हाम्रो समाज त्यति उदार भइसकेको छैन । विवाहेत्तर सम्बन्धलाई समाजले पचाइहालेको अवस्था छैन । यस्ता सम्बन्धले दुई जनाबीचको सम्बन्धमा मात्रै दरार पैदा गर्दैन । यसले परिवारका सम्पूर्ण सदस्यलाई नै तनाव दिन्छ । तनाव मात्रै होइन, अपराधसम्म निम्त्याउँछ ।

विवाहेत्तर सम्बन्धले श्रीमान्–श्रीमतीको सम्बन्ध मात्रै भाँडिँदैन । पारिवारिक सम्बन्ध नै संकटमा पर्छ । दुई व्यक्तिको सम्बन्धले दुई वटा परिवारको सम्बन्ध टुट्छ । सम्बन्ध मात्रै टुट्दैन, गम्भीर अपराध पनि निम्त्याउँछ । त्यो माथिका पाँच उदाहरणले यसको पुष्टि गरिसकेको छ ।

सम्बन्ध गुपचुप हुन्जेल सब ठिकठाक हुन्छ । जब गोप्य सम्बन्ध बाहिर आउन थाल्छ, त्यसपछि तनाव सुरु हुन्छ । तनावले व्यक्तिलाई उदास, आपराधिक, दुव्र्यसनी, झुट बोल्ने, मद्यपान वा धूपमानको लत हुँदै आत्महत्यासम्म पुर्याउँछ ।

विवाहेत्तर सम्बन्धमा महिलाको तुलनामा पुरुषको अलि बढी बस्ने गरेको पाइन्छ । नेपालको काुननले विवाहेत्तर सम्बन्धलाई गैरकानुनी मानेको छ । एकभन्दा बढी विवाह गर्न नपाउने कानुनी व्यवस्था छ । गैरकानुनी जान्दाजान्दै पनि यसमा फसिरहेका छन् ।

अहिले पुरुष र महिला दुवै आर्थिक र सामाजिक रूपले स्वतन्त्र छन् । सम्बन्ध एउटासँग विच्छेद भएपछि अर्कोसँग बिहे हुँदैन भन्ने अवस्था छैन । सहरी र पढेलेखेका पतिपत्नीमा यो ठूलो समस्याका रूपमा देखिएको छ ।

पारिवारिक जीवन बिग्रेमा जीवन नारकीय हुन्छ । व्यावसायिक रूपले जति धेरै प्रगति गरेर पनि परिवारमा तनाव भएमा मानिस सुखी हुँदैन । व्यावसायिक रूपले निकै सफल र उपलब्धि प्राप्त गरेको व्यक्तिको पारिवारिक जीवन गतिलो र सुखी हुँदैन ।

मान्छेलाई मन नपर्ने कुरा आफ्नो पाट्नरले अरूसँग विवाहेत्तर सम्बन्ध राख्नु हो । बिहे हुनुभन्दा पहिला पुरुष वा महिलाका आ–आफ्नै सम्बन्ध हुन सक्छन् । तर, विवाह भइसकेपछि भने त्यसमा साँधैको लागि बिर्को लगाउनुपर्छ ।

विवाहेत्तर सम्बन्धले आफ्नो परिवारको सम्बन्ध बिग्रिन्छ भन्ने कुरा थाहा पाएपछि वा महसुस भएपछि त्यसबाट टाढा रहनुपर्छ । त्यस्तो सम्बन्धमा रहेको व्यक्तिसँग सम्पर्क गर्न छाड्नुपर्छ ।

संसारमा कुनै कानुनले छेक्न र रोक्न नसक्ने कुरा मन हो । व्यक्तिको इच्छा हो । यसको व्यवस्थापन गर्ने स्वयं व्यक्तिले गर्ने हो । भनिन्छ– माया जति बाँड्यो उति बढ्छ । तर, सबैतिर बढ्यो भने संकट पनि आइपर्छ । बिरामी भएर औषधी प्रयोग गर्नुभन्दा उत्तम बिरामी नबन्नु नै हो । त्यसैले बेलैमा ख्याल गरौँ । पवित्र नातालाई पवित्रै राखौं ।

प्रतिक्रिया दिनुहोस्