Logo
Logo

कोशीका वन क्षेत्रमा पक्की संरचना बनाउन रोक



विराटनगर । कोशी प्रदेशका वन क्षेत्रभित्र पक्की संरचना बनाउन रोक लगाइएको छ । कोशी प्रदेश मन्त्रिपरिषद बैठकले शनिबार स्वीकृत गरेको प्रदेश वन नियमावलीमा जंगल क्षेत्रमा सिमेन्ट र कंक्रिट प्रयोग गरी संरचना निर्माणमा नपाइने उल्लेख छ ।

पूर्वपश्चिम राजमार्गको दायाँ बायाँ र अन्य सडकको दायाँ बायाँ वन क्षेत्रमा सिमेन्ट प्रयोग गरेर चिहानघर बनाइएका छन् । धार्मिक तथा जातीय संस्थाका नाममा जंगल क्षेत्रमा कंक्रिट संरचना बनेका छन् ।

तर प्रदेश सरकारले वन नियमावली पारित गरेपछि यस्ता संरचना निर्माण गर्न नपाइने भएको छ । अब जंगलमा अन्त्येष्टि गर्दा कंक्रिटका पक्की संरचना निर्माण गर्न पाइने छैन । धार्मिक संस्था तथा वन कार्यालयको भवन निर्माणका लागि पनि छड र सिमेन्ट प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

वनको प्राकृतिक अवस्था कायम राख्न सिमेन्ट र छड प्रयोगलाई कानुनी रुपमा नै निषेध गरिएको वन मन्त्रालयका सचिव विशाल घिमिरेले बताए ।

‘वन क्षेत्रमा पक्की संरचना निर्माण गर्न पाइदैन, भएकालाई पनि छलफल गरेर हटाउने योजना छ’, उनले भने, ‘वन क्षेत्रमा मृत्यु संस्कारपछि कंक्रिट संरचना निर्माण गर्न मिल्दैन, त्यसको विकल्पमा विरुवा रोप्दा हुन्छ वा सानो पिलर राख्न सकिन्छ ।’

विभिन्न धार्मिक संस्थाले वन क्षेत्रमा यसअघि नै निर्माण गरेका कंक्रिटका संरचना हटाउन पनि छलफल भइरहेको सचिव घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्