Logo
Logo

श्रीमान्-श्रीमतीको झगडाले नागरिक उन्मुक्ति फुटको सँघारमा



काठमाडौं । केन्द्रमा सत्ता गठबन्धन परिवर्तनको असर सुदूरपश्चिम सरकारमा पनि परेको छ । सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकार जोगाउन मुख्यमन्त्री कमलबहादुर शाहलाई धौ–धौ छ । 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका । नागरिक उन्मुक्ति पार्टीलाई बाहिर जान नदिन शुक्रबार राति मन्त्रिपरिषद् विस्तार गरे पनि उनको पक्षमा बहुमत जुट्न सकेन । 

उल्टै, उन्मुक्तिका अध्यक्ष र संरक्षक दुई कित्तामा विभाजित भएपछि सुदूरपश्चिमको सत्ता समीकरण जटिल बनेको छ । उन्मुक्ति पार्टी पति-पत्नीबीचको तनावका कारण फुटको अन्तिम सँघारमा पुगेको छ । 

निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा मान्यता नदिएपछि रञ्जिता श्रेष्ठले सक्रियता बढाएका छन् । पति–पत्नीबीचको शक्ति संघर्षका कारण पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल बनेको छ । 

सुदूरपश्चिम प्रदेशमा ७ सांसद जिताएको उन्मुक्ति पार्टी केन्द्रमा ४ सांसदसहित छ । केन्द्रमा ४ र प्रदेशमा १२ गरी १६ सांसद जितेको यो पार्टी पछिल्लो समय शक्ति संघर्षका कारण नै फुटको सँघारमा पुगेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा जाने विषयमा रेशम र रञ्जिताबीचको विवाद उत्कर्षमा पुगेको छ । पार्टीसँग कुनै सल्लाह नगरि प्रदेश सरकारमा ४ मन्त्री गएपछि विवाद उत्कर्षमा पुगेको विषय बाहिरिएको हो ।

केहि समय पहिलेदेखि नै विवाद चलिरहेको थियो । रञ्जिताले आफै अध्यक्ष बन्ने गरी योजना बनाएपनि रेशमले हस्तक्षेप गरेपछि उनी निराश थिए  ।  प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी उनी रेशमकै रणनीतिका कारण फेरि सकारमा जान पाएनन् । 

यता, रेशमले रन्जितालाई रोक्नका लागि कांग्रेससँग मिलेर सुदूरपश्चिममा नयाँ रणनीति जुराए । त्यसपछि रञ्जिताले ती मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएपनि रेशमले उनीहरूलाई निर्धक्क काम गर्न निर्देशन दिएका छन् । बुटवलमा पत्रकार सम्मेलन नै आयोजना गरेर रेशमले मन्त्री फिर्ता नहुने र राम्रो काम गर्ने भन्दै रञ्जिताको निर्देशनलाई चुनौती दिएका छन् ।

रेशमको निर्देशनपछि रञ्जिताले संस्थापक केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । रेशमले आयोगविरुद्ध अदालत जाने निर्णय सुनाउँदै गर्दा रञ्जिताले प्रचण्ड नेतृत्वको सरकारसँगको दूरी कम गर्ने गरी अघि बढाएका छन् । यसले पनि नागरिक उन्मुक्ति पति–पत्नीबीचको विवादकै कारण फुटको सँघारमा पुगेको देखिन्छ ।

नागरिक उन्मुक्ति पार्टी फुटाउन मधेस केन्द्रित केहि दलले ठूलो सक्रियता बढाएका छन् । उनीहरूले रेशम पक्ष र रञ्जिता पक्षलाई छुट्टाछुट्टै राखेर कदम अघि बढाएपछि पति–पत्नीबीच विवाद थप उत्कर्षमा पुगेको हो । 

लोसपाबाट विद्रोह गरेका राजेन्द्र महतोले नागरिक उन्मुक्तिलाई फुटाएर नयाँ शक्ति निर्माण गर्ने योजनालाई तीव्रता दिएको हल्ला नागरिक उन्मुक्तिमै चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्