Logo
Logo

जनतालाई कहिलेसम्म झुक्याइरहने ?




दुईजना पाइलट फेरि नयाँ जहाज उडाउने तयारीमा छन् । २०७४ साल जेठ ३ गते राष्ट्रिय सभागृहबाट यी दुईजना पाइलटले उडाएको जहाज २०७६ पुस ५ गते दुर्घटनाग्रस्त भएको थियो । त्यसयता नेपालको कम्युनिष्ट आन्दोलनले धेरै उतारचढाव व्यहोर्नुपर्यो ।

दुईतिहाइको सरकार विघटन भयो, एमाले–माओवादी एकता ध्वस्त भयो, सिंगो एमाले विभाजन भयो । ओलीको प्रतिगमनबाट संविधान जोगाउन देउवा, प्रचण्ड र माधव नेपाल एक ठाउँ आइपुगे । सँगै आन्दोलन गरे, सँगै निर्वाचन लडे र सँगै सरकारमा सहयात्रा गरे । यसको एउटै उद्देश्य राजनीतिक स्थिरता, समृद्धि र सुशासन नै थियो । राजनीतिक स्थिरताका लागि पाँचै वर्ष आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि भयो ।

त्यही सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री भए । प्रधानमन्त्री बन्न उनले सुरुमै सहमति तोडे । ओलीको प्रस्तावमा उनी प्रधानमन्त्री भए । दुई महिनापछि ओलीलाई धोका दिएर फेरि पुरानै गठबन्धनमा फर्किए । अहिले फेरि देउवालाई धोका दिएर उनी वाम गठबन्धनको नारा दिएर ओलीसँग नजिकिए । यी घटनाक्रमलाई विश्लेषण गरेर हेर्दा यो सरकार लामो समयसम्म टिक्दैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

किनभने, प्रचण्ड अस्थिर खालका नेता हुन् भने ओली धूर्त । कांगेससँगको गठबन्धन फोड्नकै लागि ओलीले प्रचण्डलाई दोस्रो पटक प्रयोग गरेका हुन् । प्रचण्डलाई टिकाउन होइन भन्ने कुरा ढिलोचाँडो छर्लङ्ग हुने नै छ ।

कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तामा जुन चरित्र, व्यवहार र छवि हुनुपर्ने हो, त्यो नभएपछि आम नागरिकसँग लज्जाबोध गर्नुबाहेक अर्को विकल्प रहन्छ ? भन्न त वाम गठबन्धनको हौवा पिटाइएको छ । अन्ततः त्यो पनि माछो माछो भ्यागुता हुन के बेर !

ओलीले मुखले ‘मिसन ८४’ भने पनि उनलाई मध्यावधि निर्वाचनको हतारो छ । सकभर सरकारकै नेतृत्व गरेर मध्यावधि निर्वाचन गराउन पाए एमालेको बहुमत आउने उनको आकलन छ । त्यसका लागि प्रचण्ड तयार नभए विकल्पमा कांग्रेस छँदैछ । प्रचण्डको धोका पाएर घाइते बाघ बनेका देउवाले जुनसुकै बेला ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न सक्छन् । तर, प्रचण्डलाई त्यो सुविधा छैन ।

किनभने, देउवा र ओलीलाई प्रचण्डले धोका दिइसकेका छन् । प्रचण्डको आरोह–अवरोह अब यत्ति नै हो । बाँकी पार्टी कत्रो हुन्छ भन्ने कुरा निर्वाचनले तय गर्ने छ ।

नेपालको राजनीतिमा सबैभन्दा खिइँदै गएको पार्टी माओवादी हो । जसले २०७४ सालमा एमालेसँग गठबन्धन गरेर आफ्नो अस्तित्व जोगायो भने, २०७९ मा कांग्रेससँग गठबन्धन गरेर तेस्रो दल बन्यो । प्रचण्डको अस्थिर राजनीतिले व्यक्तिगतरुपमा उनीलाई र उनको परिवारलाई फाइदा भए पनि पार्टीलाई ठूलो क्षति भएको छ ।

कम्युनिस्टहरू संसदीय राजनीतिमा जस्तोसुकै फोहरी खेल खेल्न तयार भएपछि त्यसले चरम अवसरवाद निम्त्याउँछ । त्यसको धङधङी ओली र प्रचण्डमा देखिन्छ । यी दुई पात्र फरक भए पनि प्रवृत्ति एउटै भएका कारण अर्को निर्वाचनसम्म नेपाली राजनीतिले बाटो बिराइरहने छ ।

कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तामा जुन चरित्र, व्यवहार र छवि हुनुपर्ने हो, त्यो नभएपछि आम नागरिकसँग लज्जाबोध गर्नुबाहेक अर्को के विकल्प रहन्छ ? भन्न त वाम गठबन्धनको हौवा पिटाइएको छ । अन्ततः त्यो पनि माछो माछो भ्यागुता हुन के बेर !

ओली र प्रचण्डले धमिल्याएको राजनीति संग्लिन समय लाग्छ । नदीको चरित्र पवित्र हो, ढिलोचाँडो त्यो सङ्लिन्छ नै । त्यसका लागि नागरिक समाजले पनि चेत्नुपर्छ । सधैँ बाघ आयो, बाघ आयो भन्दै नागरिक झुक्क्याउने दिन चाँडै सकिँदैछ । कति दिन यो वा त्यो बहानामा नागरिकलाई झुक्क्याउने ? जुन दिन साँच्चैको बाघ आउँछ, त्यो दिन यी नेताहरूले चेत्ने छन् ।

प्रतिक्रिया दिनुहोस्