Logo
Logo
समाचार टिप्पणी

धोकै धोकाको राजनीतिले सधैँ बदनाम



राजनीतिमा लाज पचेपछि जस्तोसुकै कुराहरू पनि सामान्यजस्तै लाग्छ । प्रतिगमनविरुद्ध एकजुट भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेरै निर्वाचनमा होमिए, त्यसपछि राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सुशासनको एजेण्डालाई समेटेर पाँचै वर्षसम्म आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि बन्यो । प्रचण्ड प्रधानमन्त्री बने, प्रचण्ड गठबन्धनभन्दा बाहिरबाट प्रधानमन्त्री बनेका थिए ।

गठबन्धन भत्काउन बाटो कुरेर बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको महत्त्वाकाङ्क्षा बुझेरै गठबन्धन भत्काउन त्यतिबेला प्रचण्डलाई नै प्रयोग गरे । त्यसपछि केही दिन एमाले र माओवादीको सरकार बन्यो । कांग्रेस प्रतिपक्ष कित्तामा पुग्यो ।

फेरि प्रचण्डलाई के ‘सनक’ चढ्यो, उनले एमालेसँगको सहकार्य तोडेर फेरि कांग्रेससँग सहकार्य गर्न आइपुगे । कांग्रेससँग सहकार्य गरेको डेढ वर्ष बित्दा नबित्दै फेरि प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न थाले ।

यसले के देखाउँछ भने नेपाली राजनीतिमा प्रचण्डलाई जतिसुकै चलाख भनिए पनि यो घटनाक्रमले प्रचण्ड ‘चलाख’ होइनन्, धूर्त नेता हुन् भन्ने देखिन्छ । आफ्नो स्वार्थका लागि सबैलाई धोका दिन सक्ने मानिसले केही समय सफलता त पाउलान्, तर दीर्घकालीन रुपमा त्यो सफलता टिक्दैन । त्यस्ता नेताहरू अन्ततः पतन भएर जान्छन् । मानिसलाई एकपटक मूर्ख बनाउन सकिन्छ, सधैँ मूर्ख बनाउन सकिँदैन ।

राजनीतिमा जबसम्म यस्ता धूर्त पात्रहरू हाबी हुन्छन्, तबसम्म नेपालको राजनीति संग्लिदैन । राजनीतिक अस्थिरताको कारण व्यवस्थामाथि नै आम नागरिकले प्रश्न उठाउन थालेका छन् । आम नागरिकको समस्या दिनप्रतिदिन भारी बन्दै गएको छ ।

अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको छ । किसानहरू सडकमा दूध पोख्न बाध्य छन् । मिटरब्याजपीडित संघीय राजधानीमा दिनहुँ नारा, जुलुस गरिरहेका छन् । बैंक, सहकारी र लघुवित्तपीडितहरू बाँच्नु न मर्नुको अवस्थामा पुगेका छन् । युवा पलायन बढेको बढ्यै छ । भ्रष्टाचार दिन दुगुना रात चौगुना भएको छ ।

सिंहदरबारदेखि गाउँपालिकासम्म बेथिति बढेको बढ्यै छ । प्रदेश अधिकारविहीन भएर देशलाई बोझ बनेको छ । यी र यस्ता समस्याहरूलाई समाधान गर्ने सोच राजनीतिक दलका नेताहरूमा भएन । केवल सत्ताको लछाचुडीमा राजनीतिक दलको नेताहरू लाग्दा राजनीतिप्रति नै आम नागरिकको घृणा जागेर आएको छ । यो कुरा राजनीतिक दलका नेताहरुले नबुझेको होइन, तर उनीहरूको ध्यान एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्म मात्र केन्द्रित हुँदा मुलुक थप बरबादीको बाटोमा जाँदै छ ।

भन्न त नेपाली कांग्रेसले एक्लै निर्वाचन लड्ने प्रस्ताव पास गरेपछि वाम–दलहरू पनि मिलेर जानका लागि कांग्रेससँगको गठबन्धन तोडेको भनेका छन् । यो नागरिक झुक्याउने कुरा हो । साँचो अर्थमा भन्ने हो भने नेपालमा वाम पार्टीहरू नै छैनन् ।

सबैको चरित्र, व्यवहार हेर्दा सबै सामन्ती संस्कारका छन् । यदि, सच्चा कम्युनिष्ट नेता हुँदो हो त उनीहरू देश र नागरिकप्रति आस्थावान् हुन्थे । किसान, मजदुर, विपन्न वर्गले २३ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौं आउनुपर्ने थिएन । भ्रष्टाचार अन्त्य भएर मुलुकमा सुशासन स्थापित भइसक्यो ।

युवा–विद्यार्थी पलायन हुन बाध्य हुने थिएनन् । शिक्षा, स्वास्थ्य, रोजगारमा सबैको समान पहुँच हुने थियो । नाम मात्रको कम्युनिष्ट सरकार भएकोले जुन जोगी आए पनि कानै चिरेका जस्तो देखिन्छ ।

कम्युनिष्ट पार्टीका नेताहरूमा हुनुपर्ने सामान्य गुण पनि भेटिँदैन । कसरी सत्तामा पुग्ने र लुट्ने भन्नेमै कम्युनिष्ट पार्टीका नेताहरूको ध्यान केन्द्रित भएकोले निर्वाचनमा वाम–गठबन्धनको कुरा ल्याइएको हो ।

वाम गठबन्धन २०७४ को निर्वाचनमा पनि भएको थियो । आम मतदाताले दुईतिहाइ मत पनि दिएको थियो । पाँच वर्षका लागि जनादेश पाएको एमाले–माओवादी सरकार साढे तीन वर्षमा ढल्यो । त्यो सरकार कुनै प्रतिपक्षले ढालेको थिएनन्, ओली र प्रचण्डबीचको पार्टी विवादले ढालेको थियो ।

त्यसपछि प्रतिगमनबाट मुलुकलाई जोगाउने नाममा वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो । पाँच वर्षसम्म सरकारको आलोपालो नेतृत्व गर्ने नाममा बनेको वाम–लोकतान्त्रिक गठबन्धन पनि डेढ वर्ष बित्दा नबित्दै भत्कियो ।

२०७४ सालमा ओलीले भत्काए, अहिलेको गठबन्धन प्रचण्डले । यी दुई नेताहरू पात्र फरक भए पनि प्रवृत्ति एउटै छ । त्यसैले यो वाम गठबन्धन पनि ओलीले भनेझैँ खरानीको डल्ला हो । कुनै पनि बेला भत्कन सक्छ ।

प्रतिक्रिया दिनुहोस्