Logo
Logo

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्र सौन्दर्यकरण थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यीकरण गर्न श्रमदान गरेका छन् ।

हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको सहयोगमा बजार सौन्दर्यकरण गरेको जनाएको छ ।

सङ्घले नगरपालिकालाई पेन्टिङ गर्न रङको व्यवस्थापनका लागि अनुरोध गरेको र सोहीबमोजिम नगरपालिको सामग्री उपलब्ध गराएपछि श्रमदानमा पेन्टिङ गर्न लागीएको नेपाल कमर्सियल आर्टिस्ट सङ्घले कञ्चनपुरका जिल्ला कार्य समिति अध्यक्ष दिनेश विकले बताए ।

सङ्घले कला संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो भन्ने मूल उद्देश्यले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने खालका चित्रकला कोरेर नगरलाई सौन्दर्यकरण गरिरहेको उनले बताए ।

त्यसैगरी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिकाले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरणका लागि पहल गरिएको बताए ।

‘हाल भीमदत्त नगरपालिकाको बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकला बनाएर सौन्दर्यकरण गर्न आउँदो बजेट नै विनियोजन गर्छौं’, उपप्रमुख लेखकले भने, ‘त्यसका लागि बजारका अन्य क्षेत्रमा पनि सौन्दर्यकरण गर्न पालिकाले टिम नै गठन गरेर अघि बढ्छ ।’ आर्टिस्ट सङ्घ कञ्चनपुरले २२ आर्टिस्टलाई परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्