Logo
Logo

‘कला क्षेत्र शोविज हो, केही हुनेबित्तिकै हल्ला चल्छ’



अभिनेत्री तथा मोडल मेनुका माझी आफूलाई ‘कलाको विद्यार्थी’ मान्छिन् । लामो समयदेखि कला क्षेत्रमा संघर्षरत मेनुका भन्छिन्, ‘मानिसलाई संघर्ष र मिहिनेतले नै सफल बनाउँछ ।’ पुर्खौली प्युठानकी मेनुका काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी छन् । ‘बिहे पास’, ‘प्रपञ्च’, ‘कृष्णलिला’, ‘क्विन’, ‘प्रेम पूजा’जस्ता नेपाली फिल्ममा अभिनय गरिसकेकी मेनुका ‘मैथिली रानी’ उपनामले समेत चिनिन्छिन् ।

नेपालीलगायत भोजपुरी, थारु, राजवंशीजस्ता भाषाभाषीका गीतहरुमा समेत मोडलिङ गर्दै आएकी उनी भन्छिन्, ‘मैथिली रानी दर्शकले मायाले दिएको उपमा हो, जो मलाई स्वीकार्य छ ।’ सफ्टवेयर इन्जिनियरको विद्यार्थीसमेत रहेकी अभिनेत्री मेनुका माझीसँग दृष्टिको जम्काभेट :

लामो समयदेखि कला क्षेत्रमा हुनुहुन्छ । यो क्षेत्र सोचेभन्दा फरक छ भन्छन् नि ?
यो मेरो नितान्त व्यक्तिगत विचार हो । हामीले बाहिरबाट हेर्दा र यस क्षेत्रमा लागेपछि फरक पक्कै छ । तर, हरेक क्षेत्रमा कहिँ न कहिँ कमजोरी हुन्छ । त्यो सोच र संगत गर्ने व्यक्तिमा भरपर्छ । नकारात्मक सोच भएका व्यक्तिको सोच परिवर्तन गर्न सकिन्न । तर, आफू सही हुनु जरुरी छ ।

कस्ता व्यक्तिसँग काम गर्न मनपर्छ ?
म एक कलाकार हुँ । म कामप्रति इमान्दार छु । मसँग काममा जोडिने व्यक्तिहरुलाई निराश गराउन चाहन्न । उहाँहरुको कामलाई सम्मानजनक रुपले गर्न चाहन्छु ।

टिकटकबाट धेरै प्रतिभाको जन्मभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
हुन त अहिले सरकारले टिकटक बन्द गरेको छ । कोरोनाकालमा टिकटक प्रयोगकर्ताहरु बढ्दो थियो । हरेक व्यक्तिले सोसल मिडिया प्लटफर्मलाई प्रयोग गर्दै आएको छ । टिकटक पनि एउटा मनोरञ्जन र प्रतिभा देखाउने व्यापार व्यवसाय गर्ने प्लटफर्म बनेको छ । टिकटकबाट आएका प्रतिभाहरू विभिन्न चलचित्र विज्ञापन सिरिज, म्युजिक भिडियोमा स्थापित भएका छन् । नयाँ प्रतिभाहरुलाई स्वागत गर्नु राम्रो हो । तर सिकेर आए, अझै फलदायी हुन्थ्यो । कला साधना हो, टिकिरहन सक्नुपर्छ ।

नेपाली कलाकारको डिमाण्ड बढ्दो छ रे, आफूले लिने पारिश्रमिकमा खुसी हुनुहुन्छ ?
मैले सुन्दै आएकी छु, । तर, अहिले आर्थिक मन्दीले सबै क्षेत्रमा गाह्रो छ । यस्तो समयमा आफूलाई र अरुलाई मर्का नपारी काम गर्नु राम्रो हो । मेरो गोरुको बाह्रै टक्का भन्नु राम्रो होइन । यो क्षेत्रलाई हामीले मलजल गर्नुपर्छ । कला क्षेत्र रह्यो भने हामी रहन्छौं । मेरो कुनै त्यस्तो डिमाण्ड पनि छैन ।

तपाइँलाई ‘मैथिली रानी’ पनि भन्छन् नि, स्वीकार्नुहुन्छ ?
यो दर्शकले मायाले दिनुभएको उपमा हो । त्यसैले स्वीकार छ । मैले अधिकांश म्युजिक भिडियो मैथिलीमा गरेकी छु । यो भन्दैमा अरु भाषाका गीतमा अभिनय नगरेको होइन । मैले भोजपुरी, नेपाली, थारु, राजवंशी जस्ता भाषाका गीतको भिडियोमा काम गर्दै आएकी छु ।

आजभोलि अवार्डहरू किनबेच हुन्छ भनिन्छ नि ?
यो विषयमा मलाई थाहा भएन । अवार्डले कलाकारलाई जिम्मेवारी बोध गराउँछ । र, राम्रा सृजनाहरू उत्पादन गर्न प्रेरित गराउँछ । राम्रो काम गर्ने र यस क्षेत्रमा योगदान दिनुभएका व्यक्ति र प्रतिभालाई चिनेर अवार्ड दिनुपर्छ जस्तो लाग्छ । त्यसैले अवार्ड पैसामा बिक्नु राम्रो होइन ।

ग्लामरलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो विचारमा ग्लामरस एउटा जोर्नी हो । यस मानेमा तपाईँले लगाएको पहिरनले कतिको आत्मविश्वास बढाएको छ र तपाइँँभित्र भएको व्यक्तित्व कुन उचाइमा पु¥याएको छ भन्ने कुरा हो । सुहाउँदो र कम्फाटेवल पहिरनमा सजिनु नै ग्लामर हो ।

कला क्षेत्रमा काम पाउन कम्प्रमाइज गर्नुपर्छ भन्छन् नि ?
कला क्षेत्र शोेविज हो । केही हुनेबित्तिकै मिडियामा हल्ला चलिहाल्छ । राम्रा र नराम्रा व्यक्तिहरु हरेक क्षेत्रमा छन् । तर, आफू कसरी अगाडि बढ्ने आफूमै भरपर्छ । नराम्रो तरिकाले प्रस्तुत हुनुभयो भने पक्कै नराम्रो व्यक्तिहरू तपाइँसँग जोडिनुहुन्छ । म सकारात्मक व्यक्तिसँग काम गर्न रुचाउँछु । अहिलेसम्म मैले काम पाउनकै लागि कम्प्रमाइज गरेकी छैन ।

अधिकांश समय विदेश कार्यक्रममा हुनु्हुन्छ नि ?
कलाकार भएपछि सबैले माया गर्नुहुन्छ । उहाँहरुले दिनुभएको सद्भाव, प्रेम र चाहनालाई मैले नकार्न मिल्दैन । मेरो डान्स पर्फर्मेन्सले गर्दा मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले विदेशमा बोलाउनु हुन्छ । विभिन्न चाडपर्व सांगीतिक समारोहमा प्रस्तुति दिँदा आफूलाई आनन्दको महसुस हुन्छ । नेपाली दाजुभाई तथा दिदीबहिनीहरु जो विदेशमा छन्, मेरो उच्च सम्मान छ ।

कलाकार भएपछि सामाजिक दायित्वबोध हुनु कतिको आवश्यक छ ?
प्रदेश नम्बर १ को राहत कोषकी सञ्चालिका पनि हुँ । समाजमा उत्पीडन भएका व्यक्ति र आर्थिक रूपले कमजोर भएका व्यक्तिहरूलाई सहयोगको आवाज बेलाबेला उठाउने गर्छु । म सामाजिक सञ्जालमार्फत आह्वान गर्ने गर्छु, जसले गर्दा समस्यामा परेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई सहयोग मिल्छ । कुनै पनि कठिन अवस्थामा पनि कलाकार अगाडि उभिँदा र बोल्दा ठूलो राहत मिल्छ ।

कला क्षेत्रमा अभिनय सिकेर आउनु कतिको आवश्यक छ ?
कुनै पनि क्षेत्रमा ज्ञान हुनु आवश्यक छ । अहिले नेपालमा कलाकार बन्नका लागि विभिन्न विद्यालय र रंगमञ्चहरु खुलिसकेको छ । यो क्षेत्र सम्भावना र रुचिको विषय बन्दै आइरहेको छ । म आफूलाई कलाको विद्यार्थीको रुपमा लिन्छु । पढेर होस् वा परेर नै किन नहोस्, जसले अब्बल बनाउँछ ।

तपाइँमाथि पारिश्रमिक शोषण भएको छ कि छैन ?
अहिलेसम्म पारिश्रमिक शोषण भएको छैन । तर, कहिलेकाहीँ समयमै पैसा नहुँदा चाहिँ दुःख लाग्छ । कोही कसैको लागि यो क्षेत्रलाई सौख होला । तर, मैले यसलाई पेशाको रुपमा लिएकी छु ।

प्रतिक्रिया दिनुहोस्