Logo
Logo

सिनेमाका नयाँ बजार र अवसरको खोजी



काठमाडौं । सिनेमाका नयाँ बजार र अवसरहरुबारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ । चैत्र १ गतेदेखि काठमाडौँमा चलिरहेको सातौं नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ)मा सो संवाद कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम चलचित्र पत्रकार संघ नेपालको संयोजनमा महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाली चलचित्रको नयाँ सम्भावना र बजार विस्तारका सन्दर्भमा कार्यक्रममा बहस गरिएको थियो ।

बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल, कलाकार जीतु नेपाल, हाइलाट्स नेपालका प्रवन्धक जनक तामाङ,सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए ।

निर्माता श्रीधर पौडेलले नेपालमा देशभर ३५ जिल्लामा रहेको चलचित्र हल बढ्नुका सट्टा विस्तारै घट्दै गइरहेको बताए । चलचित्र प्रर्दशन गरेर भन्दा पार्टी प्यालेस, होटल वा रेष्टुरेन्टमा धेरै नाफा कमाउने देखेपछि हल सञ्चालक निरुत्साहित भएको उनको भनाई छ ।

डिजिटल बजारको रुपमा संसारभर स्थापित ओटिटि प्लेटफर्म समेत नेपालमा विस्तार हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । चलचित्र किनेर ओटिटिमा सञ्चालकहरुले नराख्नाले बजार विस्तार नभएको उनको तर्क छ । उनले भने, ‘कमिसन खानका ओटिटि चलाएको जस्तो देखियो । यसले न त बजार बढ्छ न दिगो नै हुन्छ ।

निर्माता पौडेलका अनुसार ओटिटि कम्पनीहरुले चलचित्रको प्रचारप्रसारमा समेत ध्यान दिएका छैनन् । ओटिटिमा चलचित्र प्रदर्शन भएपछि प्रचार प्रसारमा निर्माता निर्देशकले दौडधुप गर्नुपर्ने अनि कलाकारहरु प्रमोसनमा प्रयोग हुनुपर्ने अवस्था छ । ओटिटि कम्पनीले कुनै दायित्व लिइरहेको छैन । मात्रै कमिसन खान ओटिटि चलाएको अवस्था छ ।

डिजिटल प्लेटफर्मका सञ्चालकहरु नै विभाजित भएका कारण बजार विस्तारमा बाधा पुगिरहेको हाइलाट्स नेपालका प्रबन्धक जनक तामाङ बताउँछन् । एउटा पक्षले बनाएको ओटिटिमा अरुले चलचित्र नदिने सिण्डिकेट चलचित्र क्षेत्रमा रहेको अवस्थामा दर्शकले सबै सव्क्राइभ गर्न नसक्ने हुँदा बजार विस्तार नभएको उनी तर्क गर्छन् । उनी भन्छन्, ‘नेपालजस्तो सानो र नयाँ बजार भएको ठाँउमा सबै मिलेर एउटा राम्रो ओटिटि सञ्चालन गर्न सके बजार विस्तारमा सघाउ पुग्छ ।’

कलाकार जीतु नेपाल ओटिटिमा खर्च गरेर दर्शकले चलचित्र नहेर्ने गरेको गुनासो गर्छन् । भन्छन्, ‘हलमा चलचित्र चलिरहेको छैन । केही ओटिटि सञ्चालनमा छन् । तर कमाइरहेका छैनन ।’ कोरोना संकटको बेला खुलेका केही ओटिटि बन्द भएको उनी बताउँछन् ।

उनका अनुसार सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफाम आएपछि चलचित्रको बजार खुम्चेको छ । धेरैले फेसबुक र युट्युवमा चलचित्र हेर्न थालेका छन् । यी माध्यम नहुँदा चलचित्र भवनहरुमा ५१ दिन मनाएका थिए । अहिले यस्तो अवस्था छैन । सिने पेवलकी पुष्पलता न्यौपाने ओटिटी प्लेटफर्मको सम्भावना रहेको दाबी गरिन् । अन्तररास्ट्रीय स्तरबाट चलेकामा नेपाली चलचित्रहरु दर्शकले हेर्ने गरेको उनी बताउँछिन् ।

उनका अनुसार दार्जलिङ, सिक्किममा नेपाली भाषाको चलचित्र बनाएर अन्र्तराष्ट्रिय ओटिटि नेटफ्क्सिलगायतमा बिक्रि गरिरहेका छन् । संसारभर रहेका करिव ७ करोड नेपालीभाषीले ओटिटिबाट पैसा तिरेर नेपाली चलचित्र हेर्न चाहेको तर नेपाली चलचित्रकर्मीले यस क्षेत्रमा काम गरिरहेका छैनन् ।

कलाकार जितु नेपाल भने दर्शकले पछिल्लो समय पैसा नतिरि युट्युबमा निशुल्क चलचित्र हेर्न चाहेको बताउछन् । धेरै दर्शक युट्युवमा चलचित्र खोज्ने गरेको उनको बुझाई छ ।

पछिल्लो समय आफूले बनाएको चलचित्रको कपिराइट अधिकार आफैले राख्नु पर्ने ज्ञान आर्जन गरेको कलाकार नेपाल बताउछन् । भन्छन्, ‘मैले धेरै टेलिचलचित्र बनाए । टेलिभिजनहरुलाई दिए । अहिले लाखौं भ्युज कमाएको छ । हामी पछि परेका छौं ।’
पछिल्लो समय युट्युव केन्द्रित कार्यक्रम बनाउने कि टेलिभिजन वा ओटिटिका लागि बनाउने भन्नेमा आफू दोधारमा रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्