ब्रेक्जिट रोकिए ‘राजनीतिक सुनामी’ आउने मन्त्रीकै चेतावनी « Drishti News – Nepalese News Portal
Logo

ब्रेक्जिट रोकिए ‘राजनीतिक सुनामी’ आउने मन्त्रीकै चेतावनी


- दृष्टि न्युज/संवाददाता


लण्डन, ७ माघ (एपी) । बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले चेतावनी दिएका छन् ।
अन्तराष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, ‘ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ ।’
प्रधानमन्त्री टेरिजा मेले इयूसँग बेलायत बहिर्गमनबारे गरेको सम्झौतापछि बेलायती संसदले सम्झौतालाई अस्वीकार गरेपछि बे्रक्जिट प्रक्रिया अवरूद्ध बनेको छ । केही सांसदहरूले राजनीतिक नेतृत्वमा सहमति नजुट्दासम्म मार्च २९ का लागि तय भएको बहिर्गमन प्रक्रियालाई ढिलो गर्न सुझाब दिएका छन् ।
यद्यपि प्रधानमन्त्री मेले आफ्नो अघिल्लो प्रस्ताव विफल भएपछि सोमबार संसदमा नयाँ योजनासाथ आउने बताइएको छ । विश्लेषकहरूले प्रधानमन्त्रीबाट व्यापक परिवर्तनसहितको नयाँ योजना आउने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्