Logo
Logo
कला

‘हरेक कुरामा कला लुकेको हुन्छ’



मोडल चन्द्रकला कटवाल राम्रो फिल्मको प्रतिक्षामा छिन् । म्युजिक भिडियो र विज्ञापन मोडलिङमा सक्रिय रहँदै आएकी झापाकी चन्द्रकला भन्छिन्, ‘कला क्षेत्रलाई करिअर बनाउँछु भनेरै प्रिपियर गरेर हिँडेकी हुँ, अहिले राम्रो फिल्मको प्रतिक्षामा छु ।’ मोडलिङमा स्थापित हुन शारीरिक बनावट भन्दा पनि कला र प्रतिभा हुनुपर्ने उनको धारणा छ ।

उनी मोडलिङलाई पेसाको रुपमा लिन्छिन् । मोडलिङबाट नाम र शानसँगै आत्मविश्वास बढ्ने उनको भनाइ छ । हालैमात्र बीबीए सकाएकी चन्द्रकला हिजोआज म्युजिक भिडियोहरुमा व्यस्त छिन् । मोडल चन्द्रकला कटवालसँग दृष्टिको जम्काभेट :

तपाईंको मोडलिङ यात्रा कसरी सुरु भयो ?
मैले मोडलिङ सुरु गरेको पाँच वर्षमात्र हुँदैछ । त्यस बीचमा पनि केही समय ग्याप भयो । तर, फेरि सुरुवात गरेकी छु । सुरुवाती दिनमा मेरो घरपरिवारलाई मोडलिङमा लागेको मन परेको थिएन । तर, म सानैदेखि मोडलिङमा रुची राख्थेँ । घरभन्दा बाहिरी संसारबाट केही अनुभव लिने मेरो ठूलो धोको थियो । त्यहीक्रममा मेरो एकजना साथी ‘मिस दमक’मा भाग लिएर उपविजेता बनिन् । उनलाई देखेर मलाई झनै यो क्षेत्रमा लाग्ने इच्छा जाग्यो । त्यसपछि परिवारलाई कन्भिन्स गराएर मोडलिङ सुरु गरेकी हुँ ।

ब्युटी प्याजेन्टले मोडलिङलाई मद्दत पु¥याउँछ ?
सबैको आ–आफ्नो इच्छा हुन्छ । मोडलिङ क्षेत्रमा लाग्दा ब्युटी प्याजेन्टमै भाग लिनुपर्छ भन्ने होइन । तर, यही क्षेत्रमा लाग्छु भन्ने इच्छा छ भने ब्युटी प्याजेन्टमा भाग लिँदा फाइदा नै हुन्छ । जसबाट व्यक्तित्व विकास हुन्छ । साथै, कम्युनिकेशन स्किलसँगै लिडरशिप पनि डेभलप हुन्छ । ब्यटी प्याजेन्टमा ड्रेसअप कसरी गर्ने र प्रस्तुत हुने भन्ने कुरा सिकाइन्छ । जुन कुरा मोडलिङमा पनि चाहिन्छ ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि म्युजिक भिडियो, विज्ञापन, फोटोशुट र सर्टफिल्महरु गर्दै आएकी छु । कहिलेकाहीँ इभेन्टहरुमा पनि पर्फर्मेन्स गर्दै आएकी छु ।

मोडल बन्नलाई कस्ता गुणहरू चाहिन्छ ?
हामीले सुन्दै र भन्दै आएका छौं कि मोडल हुनलाई हाइट, राम्रो अनुहार, आकर्षक शारीरिक बनावट हुनुपर्छ । तर, अहिले त्यो सोचमा थोरै परिवर्तन भएको छ । तपाईँ जस्तोसुकै हुनुहुन्छ, त्यसलाई आकर्षित ढंगले प्रस्तुत गर्नु आवश्यक छ । सबैभन्दा ठूलो कुरा अनुशासित र फेसन कलालाई बुझेको हुनुपर्छ ।

मोडल बन्नलाई बोल्ड फोटोसुट गर्नुपर्छ भनिन्छ नि, आखिर के हो ?
मोडलिङ क्षेत्रमा आउनलाई बोल्ड फोटोसुट अर्थात अंग प्रदर्शन नै गर्नुपर्छ भन्ने कुरामा म सहमत छैन । फोटोसुट गर्नुपर्छ तर, कस्तो फोटोसुट गर्दैछ भन्ने कुरा आउँछ । हरेक कुरामा कला लुकेको हुन्छ, त्यहाँ न्युडिटी वा अंग प्रदर्शन पनि हुनसक्छ । र, आफू कुन तरिकाले प्रस्तुत हुन गइरहेको छु भन्ने आफूमै भरपर्ने हो । दबाब र प्रभावमा काम गर्नु राम्रो होइन ।

फिल्मी अभिनयमा रुचि छ कि छैन ?
रुची छ । त्यसका लागि आफूलाई तयार गर्दैछु, मेहनत गर्दैछु । यही क्षेत्रलाई करिअर बनाउँछु भनेर हिँडेकी छु । हरेक किसिमका भूमिकालाई न्याय गर्न सकौँ भनेर अडिसनहरुमा भाग लिँदै आएकी छु । सिक्ने प्रयास जारी छ । म राम्रो फिल्मको प्रतिक्षामा छु ।

मोडलिङ क्षेत्रबाट आएकाहरुलाई फिल्ममेकरले सहजै स्वीकादैनन् नि ?
त्यो आफ्नो कला क्षमता देखाउने कुरा हो । उ कति लगनशील छ, कतिको धैर्यता र क्षमता छ, त्यसमा भरपर्छ । अर्को कुरा आचरण र बानीव्यहोरा पनि हो । अहिलेसम्म मसँग जो जति कामले जोडिनुभएको छ, उहाँहरूको मन जित्न सफल हुँदै आएकी छु । भोलिका दिनहरुमा पनि आफूभित्र भएको कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने छु ।

कला क्षेत्रमा नयाँलाई प्रलोभन र आश्वासन फसाइन्छ भनिन्छ नि ?
यो सर्बविदितै छ । तर, यहाँ राम्रा मान्छे पनि छन् । नराम्रो मान्छे पनि छन् । तर, आफू कसरी अगाडि बढ्ने भन्ने कुरामा चिन्तन हुन आवश्यक छ । यहाँ भनेको समयमा काम सुरु हुँदैन, ढिलासुस्ती छ । एक्लो प्रयासले केही हुँदैन । राम्रो टिमको जरुरत हुन्छ । विविध कारणले कामहरू नहुन सक्छ । तर, म अहिलेसम्म प्रलोभनको सिकार भएकी छैन ।

कतिपय अवस्थामा ‘कम्प्रमाइज’ पनि गर्नुपर्छ रे नि ?
मैले अहिलेसम्म कुनै कुराको कम्प्रमाइज गर्नुपरेको छैन । आज जुन स्थानमा छु र जे गर्दैछु, शानका साथ गर्दैछु । अहिलेका युवाहरू स्मार्ट छन् । के गर्ने वा नगर्ने पहिल्यै थाहा हुन्छ । आफ्नो कामप्रति इमान्दार र लगाव भयो भने कम्प्रोमाइज गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।

नयाँ प्रतिभाहरुलाई यस क्षेत्रमा प्लेटफर्म छ कि छैन ?
हरेक व्यक्तिमा फरक–फरक प्रतिभा हुन्छ । जसलाई सही प्लेटफर्मको जरुरत छ । हरेक क्षेत्रमा प्रवेश गर्दा सम्बन्धित क्षेत्रको सामान्य ज्ञान हुनु आवश्यक छ । फिल्म क्षेत्रमा मेकर्सहरु सकारात्मक सोचले आउँनुहुन्छ । त्यो अवसरलाई कसरी लिने भन्नेमा आफू तयार भएर बस्नुपर्छ । मैले धेरैजना मेकर्ससँग काम गर्ने अवसर प्राप्त गरेकी छु । अहिलेसम्मको मेरो यात्रा राम्रै भइरहेको छ ।

प्रेम प्रस्ताव कतिको आउँछ, प्रेमलाई कसरी हेर्नुहुन्छ ?
प्रेम प्रस्ताव आउँछ । तर, त्यसलाई कसरी लिने भन्ने आफूमा भरपर्छ । यो संसार नै माया प्रेमले टिकेको छ । सबैलाई माया गर्नुपर्छ, माया पाउन, खुसी भएर अगाडि बढ्न कसको चाहना हुँदैन र ? परिवारले दिएको माया र कामले जोडिएका व्यक्तिबाट प्राप्त मायाबाट म पनि अछुतो छैन ।

प्रतिक्रिया दिनुहोस्