Logo
Logo
कला

‘आफूलाई कसरी सुन्दर छु भन्न सक्छु र ?’



अभिनेत्री तथा मोडल श्रद्धा क्षेत्री ‘भाइरल’ भन्ने शब्द मन पराउँदिनन् । पछिल्लो समय सामाजिक ञ्जिालमा ‘भाइरल’ भएर चर्चामा आउने प्रवृत्ति छ । तर, ‘भाइरल’ क्षणिकमात्र हुने श्रद्धाको भनाइ छ । ‘कृष्ण लिला’बाट फिल्ममा डेब्यू गरेकी श्रद्धा भन्छिन्, ‘एउटा कलाकार टिकिरहनका लागि अभिनयमा जिवन्त हुनुपर्छ । भाइरल क्षणिक मात्र हो ।’

मास कम्युनिकेशनकी विद्यार्थीसमेत रहेकी सुनसरी, धरानकी श्रद्धाले ‘मिस बंगाल’मा भाग लिएपछि मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । श्रद्धा बाहिरी सुन्दरतामा विश्वास राख्दिनन् । उनी भन्छिन्, ‘सुन्दरता भनेको बाहिरी आवरणले मात्र हुँदैन । आचरण, अनुशासन र लगनशीलता पनि हुनुपर्छ ।’ मोडल तथा अभिनेत्री श्रद्धा क्षेत्रीसँग दृष्टिको जम्काभेट :

हाल केमा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडियो, फोटोसुट, टिभिसी एडहरू गर्दै आएकी छु । साथै, केही नयाँ चलचित्रको स्क्रिप्टहरू पनि पढिरहेकी छु ।

कलाकारिता क्षेत्रमा कसरी सुरुवात गर्नुभयो ?
सानैदेखि कलाकारितामा रुचि राख्थेँ । स्कुलका हुने विभिन्न क्रियाकलापमा भाग लिन्थेँ । विशेषगरी मलाई नाच्ने र गाउने भन्नेबित्तिकै भाग लिइहाल्थेँ । त्यसक्रममा विभिन्न ¥याम्प शोमा भाग लिएँ । पढाइको सिलसिलामा भारत जाँदा ‘मिस बंगाल’मा भाग लिएकी थिएँ । त्यसपछि संयम पुरीसँग एउटा टिभिसी एड खेल्ने मौका पाएँ । मेरो कलाकारिता त्यहीँबाट सुरु भयो ।

तपाइँलाई घरपरिवारको सपोर्ट छ कि छैन ?
म आफूलाई भाग्यमानी ठान्छु किनकि, मेरा हरेक कदमलाई मेरा आमा–बुवाले सधैं सकारात्मक हेर्दिनुभयो । मैले ७ वर्षको उमेरमा नाटक सिक्ने अवसर पाएँ । म अहिले जुन स्थानमा छु, त्यो मेरो बुवा–आमाकै कारणले छु ।

पछिल्लो समय ‘भाइरल’ भएर आएहरूले गर्दा मेनस्ट्रिमका कलाकारलाई अप्ठेरो पारेको छ ?
नयाँ कलाकारको प्रवेश निकै आशालाग्दो छ । पछिल्लो समयमा विभिन्न प्लेटफर्मबाट नयाँ कलाकारलाई अवसर प्राप्त भएको छ । कतिजना त भाइरल भएर आफूलाई स्थापित कलाकार बनाइसक्नुभएको छ । लगानीकर्ताहरू पनि भाइरलकै पछाडि दौडिराख्नुभएको छ । लामो समयदेखि साधना गरेका कलाकारको भ्यालु हुन छाडेको छ आजभोलि । तर, ‘भाइरल’ भन्ने कुरा दीगो रहँदैन । राम्रोसँग सिकेर, बुझेर आयो भने यो क्षेत्रमा राम्रो हुन्छ । भाइरलको पछि भन्दा पनि राम्रो कलाकारको खोजीमा हामी लागौँ ।

कलाकारले काम गरिसकेपछि प्रोजेक्टको वास्ता गर्दैनन् भन्ने लगानीकर्ताहरूको गुनासो सुनिन्छ नि ?
उहाँहरूले गुनासो गर्नु ठिकै हो । किनकि, कुनैपनि लगानीकर्ता वा व्यक्ति मसँग जोडिरहँदा उहाँले दिनुभएको मप्रतिको विश्वास र आशालाई निराशामा परिणत गर्नु राम्रो होइन । आखिरमा मेरो पनि मेहनत उत्तिकै हुन्छ । आज मात्र होइन, भोलिको लागि पनि मैले काम गर्नु छ ।

फिल्ममा कस्तो भूमिका गर्न रुचाउँनुहुन्छ ?
यो र त्यो भन्दा पनि मैले गर्न लागेको भूमिका कतिको सशक्त छ भन्ने कुरा आउँछ । मलाई लिड वा साइड रोलमा मतलव छैन । मैले गर्ने अभिनयले सबैको मन जित्न सफल रहोस् र मेरो रोल नोटिस होस् भन्ने चाहन्छु ।

सञ्चार मन्त्रालयले चलचित्र जाँचपासमा कडाइ गरेको छ । यसमा तपाईँको भनाइ के छ ?
पहिलो कुरा चलचित्र भनेकै मनोरञ्जन प्रदान गर्ने हो । समाजमा भएका विसंगति, अन्याय र अत्याचारलाई चलचित्रमार्फत देखाइँदै आएको छ । कसैको क्रियशनलाई बाउन्ड्री गर्नु राम्रो होइन । कुनै पनि कामको एउटा लिमिटेसन होला । हरेक चलचित्रलाई ग्रेडअनुसार छुटाउन सकिन्छ । त्यो आवश्यक छ ।

फिल्मी क्षेत्रमा किन नाम चलेकै कलाकार खोजिन्छ ?
हो, अधिकांश चलचित्रमा एउटै कलाकार दोहोरिरहेको हामी देख्छौं । सायद, लगानीकर्ताहरू आफूलाई सेफ फिल गर्नुहुन्छ होला । र, डिस्ट्रिब्युटरले पनि त्यहीअनुसार फिल्म लिने वा नलिने भन्ने कुरा आउन सक्छ । राम्रो स्क्रिप्ट र सोहीअनुरूप कलाकार छान्नु निर्माताको भूमिका रहन्छ ।

हलसम्म दर्शक नतानिनुमा दोषी कलाकार हो कि निर्देशक ?
नेपाली चलचित्रका दर्शक निकै चलाख भइसक्नुभएको छ । उहाँहरूले विश्वभरका चलचित्र हेरिराख्नुभएको छ । दर्शक तान्नलाई स्तरीय चलचित्र हुनुपर्छ । यसमा हामी कहाँ चुकिरहेका छौं भन्ने कुरा बोध गर्नु आवश्यक छ । प्रतिस्पर्धाको जमाना छ, हामीले समयअनुसार आफूलाई परिमार्जित गर्न सक्नुपर्छ ।

अहिले चलचित्रमा महिला सहभागिता बढ्दै गएको हो ?
अवश्य पनि । यो सकारात्मक कुरा हो । आज हाम्रा महिला दिदीबहिनीहरू हरेक क्षेत्रमा आफ्नो अहम् भूमिका निर्वाह गर्दै आइरहनुभएको छ । राम्रो सोच लिएर यो क्षेत्रमा आयो राम्रो हुन्छ ।

तपाईँ आफूलाई कतिको सुन्दर लाग्छ ?
आफूलाई कसरी म सुन्दर छु भन्न सक्छु र ? त्यो अरुले भन्ने कुरा हो । मेरो मनचाहिँ सुन्दर छ । सुन्दरता भन्ने कुरा क्षणिक रहन्छ । वास्तविक सुन्दरता भनेको आचरण, अनुशासन, बानीव्यहोरा र लगनशीलता हो । त्यो म सँग छ जस्तो लाग्छ ।

पछिल्लो समय नेपाली कलाकार डिमाण्डेड छन् भन्छन् नि ?
डिमाण्डेड भन्दा पनि पछिल्लो समय कलाकारबाट मनपरी पैसा लिने काम भइरहेको छ । निर्माताले जति पनि खर्च गर्न चाहन्छन्, उसले राम्रो पारिश्रमिक पाएपछि ऊ त्योभन्दा तल जान चाहन्न । हामीले समय सापेक्ष पारिश्रमिक लिनुपर्छ । पायो भन्दैमा जति पनि माग्नु राम्रो होइन । काम अनुसार पैसा लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्