Logo
Logo
समाचार टिप्पणी

वामपन्थीहरूको गाईजात्रा



उपनिर्वाचनमा वामपन्थीहरूले आ–आफ्नै उम्मेदवार खडा गरेर गाईजात्रा देखाएका छन् । यो गाईजात्राले वाम गठबन्धन धेरै दिन टिक्दैन भन्ने सन्देश दिएको छ । वाम दलहरू अहिलेदेखि मिलेर अगाडि बढेको भए त्यसलाई ‘कोर्स करेक्सन’ भन्न सकिन्थ्यो । तर, अहिले षडयन्त्र नै षडयन्त्र भएको छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिका धूर्त पात्र हुन् । यी दुवै नेता आफ्नो स्वार्थका लागि घाँटी जोड्न र तल्लो स्तरको आरोप–प्रत्यारोपमा उत्रिन पछि पर्दैनन् भन्ने कुरा लुकेको छैन ।

प्रचण्ड र ओलीले वामपन्थी एकताको पूर्वाभ्यासको रुपमा नयाँ समीकरणलाई अर्थाएका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनीहरूले वामपन्थी सहकार्यका लागि भन्दै सत्ता समीकरणमा सहभागी हुन पटकपटक आग्रह गरेका थिए ।

वामपन्थी एकताको नीति लिएका नेपालले प्रचण्ड र ओलीलाई शंकाको सुविधा दिएर समर्थन जनाए । तर, ओली र प्रचण्डको स्वार्थका लागि मात्रै यो गठबन्धन बनेका पुष्टि हुन एक महिना पनि कुर्नु परेन ।

इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि एमालेले हतारहतार उम्मेदवार घोषणा गर्यो । सत्ता साझेदारी दलहरूसँग सामान्य छलफलसमेत नगरी एमालेले उम्मेदवारी घोषणा गरेपछि माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा झस्किएका छन् ।

वाम सहकार्यप्रति ओली इमानदार भएको भए एमालेबाट एउटा क्षेत्र र समाजवादी मोर्चाको तर्फबाट अर्को क्षेत्रमा साझा उम्मेदवार हुन्थे । गत निर्वाचनमा इलाममा एमालेले र बझाङमा कांग्रेसले जितेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले समाजवादी मोर्चाको तर्फबाट बझाङ आफ्नो पार्टीलाई छाड्न आग्रह गर्दै त्यस्तो अवस्थामा इलाममा एमालेलाई समर्थन गरेर जान सकिने प्रस्ताव राखेका थिए । तर, ओलीले उक्त प्रस्ताव स्वीकार गरेनन्, दुवै क्षेत्रमा उम्मेदवार उठाएकाले एमाले उम्मेदवारलाई सहयोग गर्न उल्टै आग्रह गरे । त्यसपछि माओवादी र एकीकृत समाजवादीले पनि दुवै क्षेत्रमा उम्मेदवार अघि सारेका छन् ।

खासमा ओलीले प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति लिएका छन् । ओलीले निकट नेताहरूसँग ‘दूध खाने बट्टा फाल्ने’ भन्दै माओवादीका कार्यकर्ता एमालेमा तानेर प्रचण्डको राजनीतिक भविश्य समाप्त पारिदिने बताउँदै आएका छन् ।

प्रचण्डलाई क्रमिक रुपमा च्याप्दै असफल पार्ने, वाम सहकार्यको नाममा माओवादी कार्यकर्तालाई एमालेप्रति आकर्षित गर्ने ओलीको भित्री रणनीति छ । त्यसका लागि कांग्रेससँग गठबन्धन भत्काएर एमाले सरकारमा पुग्नु थियो । प्रचण्डलाई प्रयोग गरेर त्यो मिसनमा ओली सफल भएका छन् ।

सत्ता गठबन्धन भत्काएपछि ओली अब जसरी पनि देशलाई मध्यावधितिर धकेल्न चाहन्छन् । त्यसको पहिलो सर्त वर्तमान सरकार पूर्णरुपमा असफल पार्नु हो । प्रचण्डलाई कांग्रेससँग काम गर्न जति सजिलो थियो, एमालेसँग पक्कै हुने छैन ।

त्यही कारण एमालेले कमजोर नेताहरूलाई सरकारमा पठाएको छ । भित्री रुपमा मिसन ८४ मा लाग्न एमालेले कार्यकर्तालाई निर्देशन दिएको छ । त्यसको पूर्वाभ्यासको रुपमा उपनिर्वाचनलाई प्रयोग गर्न ओली चाहन्छन् ।

एमालेले यो गठबन्धन नभई सत्ता समीकरण भएको बताउन थालेको छ । एजेन्डाका आधारमा सहकार्य र स्वस्थ प्रतिस्पर्धा हुने भन्दै एमालेले आगामी निर्वाचनमा माओवादीलाई एक्लाउने प्रस्ट संकेत गरेको छ ।

कांग्रेसले चुनावी गठबन्धन नगर्ने भनेपछि भड्किएका प्रचण्ड एमालेको रणनीति बुझेसँगै रन्थनिने अवस्था आउँदै छ । बेला न कुबेला कांग्रेससँगको गठबन्धन भत्काएर प्रचण्डले गम्भीर गल्ती गरेका छन् ।

कांग्रेससँगको सत्तागठबन्धन तोडेर वाम गठबन्धन बनाएको हो भने वाम गठबन्धनबीच अहिलेदेखि सहकार्य गर्नुपर्थ्यो । इलाम र बझाङको उपनिर्वाचनमा गठबन्धनकै उम्मेदवार बनाएको भए जित सुनिश्चित हुन्थ्यो र आगामी निर्वाचनमा आम जनताका बिच सकारात्मक सन्देश जान्थ्यो ।

त्यसले आगामी निर्वाचनमा वामपन्थी दललाई जित्न सजिलो हुन्थ्यो । तर, पहिलो गाँसमा ढुंगा भनेझै वैशाख १५ गते हुने दुई क्षेत्रको उपनिर्वाचनमा वामपन्थीहरूले आ–आफ्नै उम्मेदवार खडा गरेर गाईजात्रा देखाएका छन् ।

यो गाईजात्राले वाम गठबन्धन धेरै दिन टिक्दैन भन्ने सन्देश दिएको छ । सत्ता गठबन्धनमा रहेका वाम दलहरू अहिलेदेखि मिलेर अगाडि बढेको भए त्यसलाई ‘कोर्स करेक्सन’ भन्न सकिन्थ्यो । तर, अहिले त षडयन्त्र नै षडयन्त्र भएको छ । एकले अर्कालाई सिध्याउने नियतले बनेको यो गठबन्धनले प्रचण्डले गर्छु भनेको काम पनि गर्न सक्ने छैनन् । पाइला पाइलामा अवरोध सिर्जना हुनेछ । प्रचण्डजस्ता अस्थिर खेलाडीका लागि यो छलछाम अन्तिम नै हो । त्यसपछि उनलाई न देउवाले न ओलीले नै बोक्ने छन् । त्यो अवस्थामा सिद्धिने भनेकै माओवादी हो ।

प्रतिक्रिया दिनुहोस्