Logo
Logo

बोक्सी बनेपछि केकीको चर्चा (ट्रेलरसहित)



काठमाडौं । अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’ आगामी बैशाख १५ गते रिलिज हुँदैछ । यतिखेर यो फिल्मको ट्रेलर चर्चामा छ ।

फिल्मको ट्रेलरसँगै अभिनेत्री केकी पनि चर्चामा छिन् । फिल्ममा केकीले गरेको चरित्र चर्चामा छ । नेपाली फिल्म क्षेत्रकी अब्बल अभिनेत्रीका रुपमा चिनिएकी केकी यस फिल्मबाट पुष्टि गर्दैछिन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’पछि केकीले निर्माण गरेको यो दोस्रो फिल्म हो ।

साथै, फिल्मको पछिल्लो गीत ‘बुझिनँ मैले’ पनि चर्चामा छ । गीतमा समीक्षा अधिकारीको स्वर र प्रकाश सपुतको शब्द तथा संगीत छ । गीतको भिडियोमा केकी, फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती र चरित्र अभिनेत्री रमा थपलिया फिचर्ड छन् । फिल्ममा बालिका र कोरस पनि छन् ।

गीतमा केकीका तीन भाव खुशी, डर र आक्रोश प्रष्ट देखिन्छ । गीतको सुरुवातमा एक विवाहित युवतीका लागि सिउँदोमा सिन्दुर र गलामा पोतेले दिएको खुशी देखाइएको छ । त्यस्तै धोती र चोली तथा घुम्टो र डोलीका युवतीका लागि कतिको खुशीका कुरा हुन् भन्ने अथ्र्याइएको छ । यति हुँदा हुँदै पनि आफू कसरी बाँधिएँ भन्ने कुरा बुझ्न नसकेको गीतमा भाव प्रकट गरिएको छ ।

गीतमा केकीको अनुहार र आँखाको भावसँगै शारीरिक हाउभाउले गीतको भावलाई मर्न दिएको छैन । केकीले नृत्य गरेका अन्य गीतभन्दा ‘बुझिनँ मैले’ अहिलेसम्मकै पृथक गीत हो । गीतमा एउटा महिलालाई समाजले गर्ने तारिफ र घृणा शब्दको वाणले गर्ने गरेको झल्काइएको छ । गीतमा प्रयोग भएका ‘राम्री’, ‘बोक्सी’ जस्ता शब्दले पनि महिलाप्रति समाजले हेर्ने दृष्टिकोणलाई देखाएको छ ।

पितृसत्तात्मक समाजमा महिलालाई केही भएमा पुरुषको नजरले कसरी हेर्छ भन्ने कुरा प्रकाशमार्फत बुझाइएको छ । गीतमा प्रयोग भएको ‘आकाशै बधु’, ‘पातालै बधु’, ‘भूतप्रेत बधु’, ‘डंकनी बधु’ ‘पिसाचै बधु’ शब्ले गाउँमा धामीझाक्रीको चरित्रलाई बुझाएको छ । यही शब्द अनुसार दृश्यमा सुलक्षण राती राँको बालेर केही खोज्न हिँडेको देखाइएको छ ।

कोरियोग्राफर सुनील क्षेत्रीले केकीलाई प्रष्ट रुपमा प्रस्तुत गरेका छन् । खुशी, पीडा र आक्रोशलाई देखाउन केकी र सुनीलको मेहनत देख्न सकिन्छ । अभिनेत्री रमा थपलियाको अनुहार र आँखाको भावले पनि केकीप्रति उनको दृष्टिकोण र बुझाई प्रष्ट झल्किन्छ । उमाको शंकालु नजरलाई गीतमा देखाइएको छ । गीतमा अभिनय गरेका बालबालिकाले समग्र महिलाको प्रतिनिधित्व गरेका छन् ।

यस फिल्ममा केकीका अलावा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, सुस्मा निरौला, रमा थपलिया, जीवन बरालगायतको अभिनय गरेको छ । यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्