काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्यलाई पालना गर्दै हिमालय एयरलाइन्सले ‘शिक्षा तर्फ पाइला’ अभियान अन्तर्गत प्रयास नेपाललाई सहयोग गरेको छ ।
सन् २०१७ देखि कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयास नेपालका लागि कोसे ढुङ्गा साबित भएको छ । प्रयासलाई सहयोग गर्नुको उद्देश्य विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गराउनु रहेको एयरलाइन्सले जनाएको छ ।

यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै २०२४ अप्रिल १० मा एयरलाइन्सले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरेको थियो । उक्त अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोट बुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरे ।
वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन हिमालय एयरलाइन्सले काठमाडौंकाे सिनामंगलस्थित उड्डयन सङ्ग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो ।
विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर एयरलाइन्सले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिरी क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको छ ।
एयरलाइन्सको सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन सङ्ग्रहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणमा उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरिएको थियो ।
सो अवसरमा उज्ज्वला दलीले भने, ‘हिमालय एयरलाइन्समा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाहरूको सिक्ने जोसलाई बढवा दिन, प्रयोगात्मक शिक्षामा विश्वास गर्छौँ । हामी विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ र हाम्रो अभियानको उद्देश्य आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु मात्र होइन, ज्ञान आदानप्रदानका विशिष्ट अनुभवहरू मार्फत बालबालिकाहरूलाई प्रेरित र सशक्तीकरण गर्ने पनि हो ।’
प्रयास नेपालका अध्यक्ष मणि जोशीले भने, ‘हाम्रो उद्देश्यमा निरन्तर सहयोगको लागि हामी हिमालय एयरलाइन्स प्रति हार्दिक आभारी छौँ, उड्डयन सङ्ग्रहालयको भ्रमणले, निःसन्देह उनीहरूको मस्तिष्कमा दिगो छाप छोडेको छ । यस किसिमका पहलहरूले उनीहरूको शैक्षिक वृद्धिमा योगदान मात्र नगरी नयाँ सम्भावनाहरूको ढोका समेत खोलेको छ ।’
हिमालय एयरलाइन्सको बारेमा
हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । यस्को स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबिच जनस्तरको सम्पर्कलाई बढवा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्याउनु नै एयरलाइन्सका मुख्य उद्देश्य हो ।
हिमालय एयरलाइन्स तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा।लि। बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।
हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमान छन् । हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरू–संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
हाल हिमालयले चीनका पाँच सहरहरू बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दैछ । एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्डस् २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।
एयरलाइन्स साउथ एसियन ट्राभल अवार्ड २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।
सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलो पटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र इन्जिनियरिङ सेवाहरूमा पुराएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । २०२१ डिसेम्बर २९ मा एयरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाका लागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो ।
सो प्रमाणीकरणले एयरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । २०२३ डिसेम्बर २८ मा आइसएसए अपरेटरको रूपमा प्रमाणित र आइएटिए सदस्य एयरलाइन्सको रूपमा दर्ता भएको हिमालय एयरलाइन्स नेपालको पहिलो र एकमात्र एयरलाइन्स होे ।
सन् २०२१ को सेप्टेम्बरदेखि एयरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एयरलाइन्स अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ ।
हवाई सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरूको सेवामा एयरलाइन्सले आफूलाई पहिलो छनौटको भरपर्दो एयरलाइन्सको रुपमा स्थापित गरेको छ र दक्षिण एसियाकै अग्रणी एयरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको छ ।














