Logo
Logo

कृषि बिमाबिना कृषकलाई उत्साहित गर्न कठिन


दीपप्रकाश पाण्डे, सिइओ, शिखर इन्स्योरेन्स


तीन दशक बिमा क्षेत्रमा बिताएका दीपप्रकाश पाण्डे शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । दुई दशकदेखि शिखर इन्स्योरेन्सको व्यवस्थापकीय भूमिकामा रहेका उनी त्यसअघि एभरेस्ट इन्स्योरेन्समा आबद्ध थिए ।

शिखर इन्स्योरेन्समा महाप्रवन्धकका रुपमा भित्रिएका थिए । त्यसबेला शिखर इन्स्योरेन्समा दुई जना महाप्रबन्धक थिए । एक जनालाई कम्पनीको प्राविधिक पाटो र अर्कोलाई बजार, वित्त तथा प्रशासनको जिम्मेवारी थियो ।

दुई दशक अवधिमा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरू मध्ये शिखर इन्स्योरेन्सलाई अब्बल बनाउन उनी सफल भएका छन् । शिखरलाई अझै शिखरमा पु¥याउने लक्ष्य उनको छ । यद्यपि, उनी अझै आफू सिक्ने क्रममा रहेको बताउँछन् ।

उनी भन्छन्, ‘बिमा यस्तो विषय हो, जहाँ सधैँ आफूलाई सिकारु भएर नै सोच्नु पर्ने रहेछ । यो विषयमा कसैले मैले सबै जानेको छु भन्छ भने त्यो हावा गफ मात्र हो । बिमा यस्तो विषय हो, जति ज्ञान लिए पनि अपुरो नै हुन्छ । बिमामा नयाँ कुराहरू थपिँदै जाने हुन्छ । त्यस कारण मैले सबै जानिसकेको र बुझिसकेको भन्न सक्दिनँ ।’ बिमा क्षेत्रबाटै अवकाश पाएको व्यक्तिसँग पनि धेरै कुरा सिक्न बाँकी रहने उनी बताउँछन् ।

शिखर इन्स्योरेन्समा दुई जना डेपुटी सिइओ छन् । हाल ६५० जना कर्मचारी छन् । ४ जना ‘क्वालिफाइड’ चार्टड एकाउन्टेन्ट र ८÷१० जना सेमी क्वालिफाइड छन् । पाण्डे बिमा क्षेत्रका एक प्रमुख हस्ती हुन् । तर्, उनी कहिल्यै कहिल्यै घमन्ड गर्दैनन् । उनको अनुभव र क्षमताकै कारण नेतृत्वमा निरन्तरता पाउँदै आएका छन् ।

‘कम्पनीलाई कसरी अगाडी बढाउने ? कसरी बिमा व्यवसाय वृद्धि गर्ने भनेर सोच जाँदो रहेछ । पहिला पहिला दिनको १ लाख आए पनि ओहो कति धेरै भन्ने लाग्थ्यो । तर, आजको दिनमा १ करोड रुपैयाँ बिमा शुल्क आए पनि पुगेन भन्ने हुन्छ ।’ उनी स्मरण गर्छन्, ‘१० करोड रुपैयाँ पुँजीबाट सुरु गरेको शिखर इन्स्योरेन्सको आज ३ अर्ब ६५ करोड रुपैयाँ नाघिसक्यो । हामीले पहिले १३ करोडको पुँजीबाट सुरु गरेको अहिले हामी ६ अर्ब रुपैयाँ पुर्याउने योजनामा छौँ ।’

उनले थपे, ‘शिखर इन्स्योरेन्स हरेक सूचकमा पहिलो स्थानमा छ । त्यसको श्रेय ग्राहक वर्गमा जान्छ । ग्राहकको विश्वास जित्नु नै व्यवसायमा सफल हुनु हो । ‘बिमा कम्पनीलाई पहिलो बनाउन सर्वप्रथम जनताको मन जित्न आवश्यक छ । बिमा भनेको एउटा विश्वास हो । हामीले एउटा कागजको आधारमा ग्राहकलाई विश्वास दिलाउँछौँ । कागजको भरमा गरेको वचनलाई तिर्नुपर्ने अवस्थामा लडबडाउनु हुँदैन । बिमा गर्नेको विश्वास जित्यो भने आवश्यकताअनुसार बिजनेस बढ्छ । जुनेला बिमाको बढी दाबी तिरेको छ, त्यही बेला बजारमा सेयर मूल्य बढेको छ ।’

नबुझी बिमा गर्नेहरू पनि छन् । जसका कारण दाबी गर्ने क्रममा केही समस्या पनि आउन सक्छ । तर, शिखर इन्स्योरेन्सले बिना झन्झट समयमै दाबी भुक्तानी गर्दै आएको छ । बिमासम्बन्धी सचेतना फैलाउने कामसमेत गर्दै आएको छ ।

‘हामीले बिमाबारे शिक्षित गराउन खोजेको छौँ । अध्ययन अनुसन्धान गरेर कसरी बिमा गर्ने ? कुन तरिकाले गर्ने भनेर लागिरहेका छौँ । बिना झन्झट समयमै दाबी भुक्तानी गरिरहेका छौँ । समयमै दाबी भुक्तानी गर्दा जनताको विश्वास जित्न सफल भएका छौँ,’ उनले भने, ‘
नेपाल कृषि प्रधान देश हो । कृषिबिमा बिना कृषकलाई उत्साहित गर्न कठिन छ । पछिल्लो समय कृषि बिमा गर्नेहरूको संख्या पनि बढ्दै गएको छ ।’

‘कृषि भनेको राष्ट्रको आवश्यकता हो । बुढापाकाले भन्थे पोखरी खनेपछि समयमा पानी भरिहाल्छ । त्यसले गर्दा कृषि क्षेत्रमा लगानी गरेर कृषकको आर्थिक उन्नतिको लागि हामीले काम गर्न सक्यौँ भने भोलि बिमा बजार आफै फस्टाएर जान्छ । त्यसले गर्दा कृषिमा हामीले धेरै सम्भावना देखेका छौँ’, उनी भन्छन्, ‘कबीमा प्राधिकरणले ३२ वटा कृषि बिमा प्रडक्टहरूलाई कार्यान्वयन गर्न स्वीकृति दिएको छ । शिखर इन्स्योरेन्सले छुट्टै प्रोडक्टहरू ल्याएको छ । कृषि बिमाबारे पाण्डे भन्छन–बाढी आयो । असिना आयो, खडेरी प¥यो भने यति दाबी भुक्तानी गर्छौं भनेर यस्ता किसिमको प्रोडक्टहरु ल्याएका छौँ । कृषि बिमामा एकदमै जोखिम छ । तर, राष्ट्रले आर्थिक उन्नति ग¥यो भने बिमा बजार फस्टाएर जान्छ । बजार बढ्यो भने बिमा स्वतः बढ्छ । किसानहरूको उन्नति भयो भने स्वतः बिमा बजार फस्टाउँछ । त्यही भएर बिमा कम्पनीहरूले कृषि बिमामा जोखिम लिनपर्छ ।’

देशभरि ११५ वटा शाखा रहेको शिखर इन्स्योरेन्सको बिमा बजार हिस्सा १४ प्रतिशत छ । शिखर इन्स्योरेन्स अझ सबल संस्था बन्नेतर्फ अगाडि बढिरहेको छ । लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिँदै आएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको नेटवर्थ भइसकेको छ । व्यवसाय पनि बढेको छ ।

अघिल्लो वर्ष ३६ करोड रुपैयाँ खुदनाफा भएको थियो भने यो वर्ष ५० करोड रुपैयाँ खुदनाफा हुने अनुमान गरिएको छ । बजार विस्तारको क्रममा ६ अर्ब रुपैयाँको लक्ष्य शिखर इन्स्योरेन्सले राखेको छ । मोटर, कृषि, प्रोपर्टी, मनी ट्रान्फरलगायत सबै पोर्टफोलियामा शिखर इन्स्योरेन्स अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्