Logo
Logo
सुदूरपश्चिम प्रदेश

आफ्नो नेतृत्वमा सरकार गठनको तयारीमा नाउपा : मुख्यमन्त्री लक्ष्मण कि कैलाश ?



कैलाली । सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गर्ने भएको छ । यससँगै नाउपाले केन्द्रमा रहेको नयाँ सत्ता समीकरण दलको समर्थनमा सरकार निर्माणको गृहकार्य सुरु गरेको छ ।

सत्ता गठबन्धनमा रहेका शीर्ष दलका नेताहरुबीच सुदूरपश्चिम सरकारको नेतृत्व नाउपालाई दिने सहमति भएको हो । उक्त सहमतिअनुसार नाउपाबाट संसदीय दलका नेता कैलाश चौधरी मुख्यमन्त्री बन्ने भएका छन् ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले केही समयअघि मात्र घनश्याम चौधरीलाई हटाएर संसदीय दलको नेतामा सांसद कैलाश चौधरीलाई तोकेका थिए । कैलाश चौधरी आफ्नो नेतृत्वमा सरकार गठनको तिव्र तयारी लागेका छन् ।

आफ्नो नेतृत्वको विषयमा गठबन्धन घटक दलमा कुनै दुबिधा नरहेको बताउँदै कैलाश चौधरीले आज सरकारको प्रारम्भिक खाका ल्याउने र भोलि वैशाख १ गते प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जानकारी दिए ।

यसअघि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने शीर्ष नेतृत्वबीच समझदारी बनेको थियो । तर, पहिलो चरणमा आफ्नो नेतृत्वमा सरकार बनाउने र त्यसपछि समाजवादीलाई सत्ता हस्तान्तरण गर्ने नाउपाले विश्वास दिलाएको छ ।
नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकार चैत २२ गते ढलेपछि प्रदेश प्रमुख नजिर मियाँले १० दिन (वैशाख २ गते)भित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको लागि आह्वान गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर, हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।

नयाँ सत्ता गठबन्धन घटक दल माओवादीको १० (सभामुख बाहेक), एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गर्ने नाउपाको तयारी छ ।

आफ्नो नेतृत्वमा सरकार बनाउने लक्ष्मणको तयारी

सुदूरपश्चिममा सरकारको नेतृत्व पाउने भएपछि नाउपामा द्ुईधार देखिएको छ । नाउपा संसदीय दलका नेता कैलाश चौधरीले आफ्नो नेतृत्वमा सरकार गठनको तयारी गर्दैगर्दा नाउपाका बहुमत सांसदले लक्ष्मण किशोर चौधरीको नेतृत्वमा सरकार गठनका लागि लिखित सहमति गरेका छन् ।

प्रमुख सचेतक खुसीराम चौधरी, लक्ष्मण किशोर चौधरी, रामेश्वर चौधरी र घनश्याम चौधरीले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने र त्यसको नेतृत्व आफूले गर्नेगरी सहमति भएको लक्ष्मण किशोर चौधरीले बताए । उनले भने, ‘हामी हाम्रै नेतृत्वमा सरकार गठन गर्नेगरी सहमति गरेका छौँ । त्यसको नेतृत्व मैले गर्ने सहमति भएको छ ।’

सुदूरपश्चिममा नाउपाका ७ सांसदमध्ये इन्दिरा गिरीलाई पार्टीले फिर्ता बोलाएपछि अहिले ६ जना छन् । लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन ६ जामध्ये ४ सांसदले सहमति गरेका छन् । ती चार सांसद कांग्रेस नेतृत्वको काम चलाऊ सरकारमा सहभागी छन् ।

घनश्याम चौधरी आर्थिक मामिला, खुसीराम चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन् भने लक्ष्मण किशोर चौधरी सामाजिक र रामेश्वर चौधरी भूमि व्यक्ति कृषि तथा सहकारी मन्त्री हुन् । कांग्रेस सरकारमा सहभागी नभएका दुई सांसद कैलाश चौधरी र टिका थापा उक्त सहमतिमा सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्