Logo
Logo
कला

‘मेरो बिहे तामझामले हुँदैन’



पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय छिन् गायिका हुन्, एलिना चौहान । उनीलाई यतिखेर गीत गाउन भ्याइनभ्याई छ । दिनको चारवटासम्म गीत रेकर्डिङ गर्छिन् उनी । मेलापर्वहरु देशभित्र र बाहिर स्टेज कार्यक्रममा जान उनलाई भ्याइनभ्याई छ । थुप्रै सम्मानबाट सम्मानित भइसकेकी एलिनाले धोकेबाज हौ तिमी, कट्टा हान्दिन्छु, तिम्रो मायाले बाँधेर राखजस्ता सयौँ लोकप्रिय गीत गाइसकेकी छन् ।

एलिना यतिखेर आफ्नो सांगीतिक विषयभन्दा पनि वैवाहिक विषयलाई लिएर चर्चामा छिन् । लामो पे्रमपछि अष्ट्रेलियामा रहेका आफ्नो पे्रमी विष्णु सापकोटासँग लगनगाँठो गाँस्न लागेकी उनै एलिना चौहानसँग दृष्टिका लागि रेजिना पाण्डेसँगको जम्काभेट :

विवाह कतिको लागिरहेको छ ?
छ, घरपरिवार सबै विवाहको तयारीमा जुटिरहेका छन् । मचाहिँ रेकर्डिङमै व्यस्त छु । दुई–चारवटा कन्र्सटहरू पनि बाँकी छ, नयाँ साल पनि लाग्दैछ यसैमा पनि व्यस्त छु । दुई–चारवटा काम सिध्याएपछि विवाहका लागि बे्रक लिन्छु ।

धेरै सेलिबे्रटीहरु महिनौँ दिनदेखि आफ्नो विवाहका लागि कामबाट बे्रक लिएर तयारी गर्छन्, तपाइँचाहिँ काममै व्यस्त हुनुहुन्छ नि ?
आफ्नो ‘पर्सनल’ कामले गर्दा प्रोफेसनल काममा रोकावट आउन दिनुहुँदैन । यसले सबैलाई असर गर्छ । मलाई विश्वास गरेर अर्गनाइजरहरुले अवसरहरु दिनुहुन्छ । मेरो कामलाई मन पराइदिनुभएको छ, त्यसैले बीचमा काम छोड्न मिल्दैन ।

विवाहमा तामझामका साथ गर्दै हुनुहुन्छ ?
मेरो विवाहमा खासै त्यस्तो केही छैन । म झापा बिर्तामोडको पार्टी प्यालेसमा सामान्य विवाह गर्दैछु । मैले लगाउने लुगा व्युटिसियन क्यामेरामेन सबै झापामै छन् ।

तपाईँजस्तो नाम चलेका सेलिबे्रटीले त धैरै खर्च गरेर विवाह गर्छन् नि ?
रीतिरिवाज चलाउने हो । परम्पराअनुसार विवाह गर्ने हो । तामझाम गर्नु जरुरी छैन किनकि, सेलीबे्रटीले तामझाम गरेर विवाह गर्दा धेरै ऋणमा फसेका छन् । धेरैको घरजम बर्बाद भएको छ ।

विवाहमा क–कसलाई बोलाउँदै हुनुहुन्छ ?
यही क्षेत्रका साथीभाइ र आफन्तहरुलाई आमन्त्रण गरेकी छु ।

तपाइँको विवाहमा विशेष के हुनेछ ?
विवाह गर्दैैछु विशेष भनेको यही भइहाल्यो । आफैँले मन पराएको पे्रमीसँग विवाह गर्न पाउनु पनि विशेष नै हो ।

विवाहपछि हनिमुन जाने चलन छ, यसबारे कुनै योजना बनाउनुभएको छ ?
खासै छैन, काममा व्यस्त छु । तरपनि समय मिल्यो भनेचाहिँ योजना बनाउनुपर्ला । सल्लाह गर्न बाँकी नै छ ।

नवविवाहित जोडीहरु हनिमुन किन जान्छन् ?
एकअर्कालाई बुझ्न र नयाँ नातालाई गाढा रुप दिन पनि हुनसक्छ ।

विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया जानुुहुन्छ ?
हेराैँ के हुन्छ । कामहरु यतै छन् । भविष्यको कुरा अहिलेलाई केही सोचेका छैनाँै । म जहाँ बसेपनि गीतसंगीतबाट टाढा हुँदिन ।

बीचमा तपाइँहरुको सम्बन्धमा चिसोपन छाएको थियो नि किन ?
हाम्रो सम्बन्धमा कहिल्यै नराम्रो भएकै थिएन । साना–साना कुरामा कुरा नमिल्दा विवादमात्र भएको हो । त्यसलाई ठूलो रुप बनाइएको थियो । यो समाजको पुरानो नै चलन हो । सानो कुरा पाएपछि चियोचर्चा गर्ने खोजीनीति गरिन्छ ।

अहिले धेरै सेलीबे्रटीको सम्बन्ध लामो समय टिकेको पाइँदैन, किन होला ?
सेलिबे्रटीको मात्र होइन, हरेक क्षेत्रको व्यक्तिहरुलाई यो समस्या परिरहेको छ । सेलिबे्रटीहरु सबैको आँखामा पर्ने भएकोले धेरैजस्तो देखिएको हो । हरेक मान्छेहरुको आफ्नो समस्या हुन्छ । मन मिलेसँगै बस्ने हो, नभए छुट्टिएको नै राम्रो ।

तपाइँ सफलताको सिढी चढ्दै हुनुहुन्छ । अरु महिलाहरुलाई के भन्न चाहनुहुन्छ ?

हरेक महिला आँटिलो र साहसिलो हुनुपर्छ । अरुको भरमा होइन, आफैँले कमाउन सक्ने जिम्मेवार बन्नुपर्छ । कसैले पनि हेप्न नसकोस्, कसैको कमजोरी देखेर नहाँसोस् । जेजस्तो जानेको सीप छ, त्यसैमा रमाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्