
महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि बन्द हुने जानकारी दिएको हो ।
‘उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएका दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ । भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ,’ सूचनामा भनिएको छ ।
मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुने कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रूपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्ट्रेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।’














