Logo
Logo

भिमाको ज्यान गएको एक साता पुग्यो, आफन्तले अझै बुझेनन् शव



काठमाडौं । दैलेखको आठबीस–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा मृत्यु भएको एकसाता भयो । उपचारका लागि हिँडेरै कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उनको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएको थियो । उपचारका क्रममा भीमाको मृत्यु भएपछि आफन्तले शव बुझेका छैनन् ।

भीमामा तल्लो पेट दुख्ने र रगत बग्ने समस्या थियो । नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा सिपाही पदमा कार्यरत भिमाका श्रीमान् नमराजले हिँडेरै अस्पताल लगेका थिए । तर, उपचारका क्रममा ज्यान गयो । परिवार र आफन्तले अस्पतालको टोलीले अप्रेसनमा लापर्बाही गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।

भिमाको शव अझै अस्पतालमै रहेको छ । मृतकका परिवारले उपचारमा लापर्बाही गर्नेलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् । मृतकको आठ महिने छोरीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी माग गर्दै आएका छन् । आफ्ना मागमा सरकारी पक्षबाट बेवास्ता गरिएको भन्दै पोस्टमार्टम गर्न समेत पीडित पक्षले अस्वीकार गर्दै आएका छन् ।

पीडित पक्षले बिरोधस्वरुप कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए । पीडित परिवार, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का तथा प्रशासनको टोलीबीच छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । अस्पतालले भने अप्रेशन गर्दा नभई फोक्सोको समस्याका कारण भीमाको मृत्यु भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्