Logo
Logo

डिडिसीले माग्यो महाप्रबन्धक



काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । बुधबार सूचना जारी गर्दै डिडिसीले महाप्रबन्धक पदका लागि २१ दिनभित्र दरखास्त आह्वान गरेको हो ।

महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संसोधन सहित)को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर÷व्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अनुभव खुल्ने कागजात, बढीमा तीन पृष्ठसम्मको वैयक्तिक विवरण पेस गर्नुपर्नेछ ।

त्यस्तै डिडिसीको अवस्था, समस्या तथा चुनौती र सुधार योजना सहितको पाँच हजार शब्दमा नबढाई तयार पारिएको व्यावसायिक कार्ययोजना छुट्टाछुट्टै दुई प्रति खाममा सिलबन्दी गरी पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्