Logo
Logo

जीबी राईलाई पक्राउ गरी सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र



काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर नेपाल पठाइदिन परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पत्राचार गरेको छ । राई मलेसियामा रहेको अनुमान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालय को अनुरोधमा परराष्ट्र मन्त्रालयले मलेसिया सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक पत्रमार्फत अनुरोध गरिएको हो ।

राईनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट रेडकर्नर नोटिससमेत जारी भएको छ । राईविरुद्ध माघ १३ गते ‘डिफ्युजन नोटिस’ जारी भएको थियो । रेडकर्नर नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याउन दुई देशका परराष्ट्र मन्त्रीबिच कुराकानी गर्ने र नेपालबाटै प्रहरी पठाएर ल्याउनेगरी तयारी भइरहेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ थानबहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्वअध्यक्ष भूपेन्द्र राई र पूर्वसदस्य शिवबहादुर गुरुङविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

सहकार ठगी प्रकरणका मुख्य दोषी राई पक्राउ नपर्दा गृहमन्त्री रवि लामिछानेमाथि दवाव बढ्दै गएको छ । लामिछानेसमेत सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका छन् । जसले गर्दा गृहमन्त्री लामिछानेको चर्को आलोचना भइरहेको बेला गृहको अनुरोधमा मलेसिया सरकारलाई पत्र पठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्