Logo
Logo

अब एक सातासम्मको मौसमबारे पहिले जानकारी पाइने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको मौसम पूर्वानुमान माहाशाखाले अब भने एक सातासम्मको मौसमी अवस्थाबारे जानकारी दिने तयारी गरेको हो ।

एक सातासम्मको मौसम पूर्वानुमान हुँदा किसानहरुलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले एक सातासम्मको मौसमसम्बन्धी पूर्वानुमान गर्ने गरी छलफल अगाडि बढिरहेको बताए । ‘अहिलेसम्म हामीले तीन दिन मौसम पूर्वानुमान गर्दै आइरहेका छौँ । यसको प्रभावकारिता पनि बढ्दै जान थालेपछि एक सातासम्मको पूर्वानुमानको तयारी गरिएको हो,’ उनले भने ।

विश्वव्यापी मोडलअनुसार अगाडि बढ्न प्राविधिक र वित्तीय स्रोतको अभाव भएकाले क्षेत्रीयस्तरमा सहकार्य गरेर जान सकिने कर्माचार्यको भनाई थियो । मित्र राष्ट्रहरु र अन्य मौसमसम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको उनले बताए । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसमसम्बन्धी एक सातासम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘मौसमसम्बन्धी एक सातासम्मको जानकारी दिँदा ठूलो धनजन र हानी नोक्सानी घटाउने छ विश्वास गर्न सकिन्छ । प्रत्येक वर्ष सर्वसाधरणहरुले बाढी र पहिरोबाट सम्पत्तिको नोक्सान बेहोर्नु परेको छ । सम्पत्तिको सुरक्षा गर्न प्रशस्त समय चाहिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्