Logo
Logo

‘लक्ष्य प्राप्तीका लागि युवाको भूमिका महत्वपूर्ण’



विराटनगर । गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन कम गर्नका लागि थ्री जिरो क्लबको भूमिका महत्वपूर्ण रहने कार्यक्रमका वक्ताहरुले बताएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको ‘प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन’मा बोल्ने वक्ताहरुले गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन कम गर्नका लागि थ्री जिरो क्लबका सदस्यको भूमिका महत्वपूर्ण रहने बताएका हुन् ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित गठन भइरहेको थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाहरु सदस्य हुन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य रहने व्यवस्था छ ।

युवा सदस्यहरु सहभागी थ्री जिरो क्लब सदस्य सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्ययन्त्री केदार कार्कीले मानिसकै कारण अहिलेको वातावरणीय प्रतिकुलताको अवस्था सृजना भएको बताए । कार्वन उत्सर्जन कम गर्दै गरिबी र बेरोजगारी अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

‘हामीले आउने पुस्तालाई वातावरण संरक्षण गरिरहेका छौकी छैनौं, संस्कार र संस्कृती जोगाइरहेका छौँ कि छैनौं,’ उनले भने,‘ आउने पुस्तालाई हामीले वातावरण संरक्षणसँगै संस्कार र संस्कृति सिकाउनु पर्छ, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्छ ।’
जीवन विकास लघुवित्तले गरिबी, बेरोजगारी र वातावरण संरक्षणका लागि महत्वपूर्ण रुपमा काम गरिरहेको उनले बताए । प्रदेश सरकारले दक्ष जनशक्ती उत्पादन गरेर वातावरण संरक्षणका लागि काम गरिरहेको उनको भनाई छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले गरिबी र बेरोजगारी अन्त्यसँगै वातावरण संरक्षणका लागि युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । अहिलेको समस्या राजनीति रहेको बताउँदै उनले राजनीतिलाई सही ट्याकमा ल्याउन युवाले अग्रसरता देखाउनुपर्ने बताए । ‘राजनीति भनेको नीतिहरुको माउ नीति हो, राजनीतिलाई म्यानेजमेन्ट हो भनेर बुझ्नु पर्छ,’ उनले भने,‘राजनीतिलाई म्यानेजमेन्टको रुपमा बुझ्ने देशले प्रगति गरेका छन् ।’

राजनीतिलाई सहज व्यवस्थापनका लागि योग्य र क्षमतावान मान्छे आउनुपर्ने उनको भनाई छ । ‘जान्ने राजनीतिमा नआएपछि नजान्ने आउँछन्, नजान्नेले नीति बनाउछ, जान्ने दास हुन्छन्,’ उनले भने,‘ समाजमा असल सोच र चेतना भएका युवा राजनीतिमा आउनुपर्छ । युवाहरु राजनीतिमा आएपछि विकास हुन्छ ।’

थ्री जिरो क्लब मार्फत युवाहरुले गरिबी, बेरोजगारी अन्त्यसँगै राजनीति सुधारका लागि पनि आउनुपर्ने बताए । उनले भविष्यको योजना बनाएर अघि बढ्न आग्रह गरे । थ्री जिरो क्लब मार्फत स्वदेशमा नै स्वरोजगार बन्नका लागि भूमिका खेल्नुपर्ने उनले बताए ।

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले गरिबी र बेरोजगारी अन्त्यका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्ने बताए । रोजगारी र उद्यमशीलता विकासका लागि राजनीतिक नेतृत्वले नेतृत्व लिएर काम गर्नुपर्ने उनको भनाई छ । किसानलाई कृषिलाई उद्यमशीलतामा जोडेर लैजानका लागि थ्री जिरो क्लबका सदस्यले भूमिका खेल्नुपर्ने उनले बताए ।

समाज परिवर्तनका लागि आफैबाट सुरु गर्न उनले आग्रह गरे । ‘वातावरण संरक्षण अभियान आजैबाट सुरु गर्नुहोस्, तपाईले आफ्ना लागि जुन दिन रुख रोप्नु हुन्छ त्यी दिनदेखि आफु परिवार, समाज, देश र विश्वलाई सहयोग गर्नुहुन्छ,’ उनले भने,‘ उद्यमशीलताको सुरुवात पनि आफैबाट गर्नुहोस्, देश बनाउने अभियानमा लाग्नुहोस् ।’ विरुवा रोप्दा देश र विश्वलाई नै फाइदा पुग्ने उनले बताए । स्वरोजगार बन्नका लागि युवाहरु सक्रिय हुनुपर्ने उनको भनाई छ ।

मोरङको धनपालनाथ गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले थ्री जिरो क्लब मार्फत स्वरोजगार बन्दै गरिबी नियन्त्रण र वातावरण संरक्षणको अभियानमा लाग्न आग्रह गरे । उद्यमशीलता विकास र वातावरण संरक्षण अभियानलाई पालिकाले पनि सहयोग गर्ने बताए ।

स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले थ्री जिरो क्लब गठन र क्लबको सक्रियतामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग उदारणीय रहेको बताए । थ्री जिरो क्लब गठनलाई बढाउँदै शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन अभियानलाई थप प्रभावकारी बनाउन उनले आग्रह गरे ।

वातावरण संरक्षणका लागि थ्री जिरो क्लबको भूमिका महत्वपूर्ण रहने पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले बताए । विकाससँगै विनास र विपतिको सृजना भइरहेको बताउँदै उनले यसलाई नियन्त्रण गर्नका लागि युवा पुस्ताको भूमिका महत्वपूर्ण रहने बताए । उनले कार्वन उत्सर्जन कम गर्नका युवाहरुले अग्रसरता लिएर अभियान सञ्चालन गर्नुपर्ने बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सम्मेलनले आफ्नो क्षेत्रमा पुगेर काम गर्न क्लबका सदस्यलाईहरुलाई उर्जा थपेको बताए ।

जीवन विकासले फरक शैलीमा काम गर्दै आइरहेको बताउँदै उनले संसारमा भइरहेका राम्रा कामलाई भित्र्याउने गाउँसम्म पुर्याउने योजनासहित थ्री जिरो क्लबको सुरुवात भएको बताए । युवाहरूसँग समाज र देशको आशा रहेको बताउँदै उनले समुदाय र देशका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।

थ्री जिरो क्लब मार्फत नेपालमा भइरहेको काम उत्कृष्ट रहेको बताउँदै उनले जीवन विकासले थ्री जिरो क्लबको गठन र प्रभावकारी कार्य गर्नका लागि प्रोत्साहन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्