Logo
Logo

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन, भोलि अन्त्येष्टि



काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष समेत रहेका शाक्य ८१ वर्षको थिए ।

डेढ महिनाअघि मात्र उनी भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भएका थिए ।

दिवंगत शाक्य रोटरी ३२९२ डिष्ट्रिकका पूर्वगभर्नर पनि हुन् । शाक्यको पार्थिव शरीरलाई बिहीबार श्रद्दाञ्जलीका लागि रोटरीको कार्यालयमा राखिएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकेर अहिले शाक्यको पािर्थव शरीरलाई पुल्चोकस्थित घरमा लगिएको रोटरी महेश बज्रचार्यले बताए ।

उनका अनुसार शाक्यको भोलि (शुक्रबार)मात्र अन्त्येष्टि गरिने भएको छ । उनका एकजना छोरा अमेरिकामा छन् । उनलाई पर्खनुपरेकाले भोलिमात्र अन्येष्टि गरिने बज्रचार्यले बताए । उनले भने, ‘अमेरिकामा भएका छोरा आज साँझ ६ बजेतिर आइपुग्दैछन् । उसैलाई पर्खेका हौँ । छोरा आइपुपछि भोलि बिहान अन्त्येष्टि गरिने भएको छ ।’

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । स्व शाक्यका दुई छोरी र दुई छोरा छन् । श्रीमतीको भने करिब तीन महिनाअघि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्