Logo
Logo

लुम्बिनीमा मन्त्रिपरिषद विस्तारकाे तयारी, को-को बन्दैछन् मन्त्री ?

आज साँझ ५ बजे शपथ



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । चैत २३ मा मुख्यमन्त्री नियुक्त हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जनालाई विनाविभागीय मन्त्रि बनाएका महराले आज दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

सरकारका प्रवक्ता दीपेन्द्र पुनले आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने र सांझ ५ बजे शपथग्रहण हुने बताए ।माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री छन् । सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेले पाँच मन्त्रालय पाएकाे छ । जसमा अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्री मन्त्री बन्दैछन् । ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने एमाले स्रोतले बतायो ।

माओवादीबाट थप एक जना बाँकेकी कृष्णा केसी मन्त्री बन्ने स्रोतले जनाएको छ । केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । तर सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।
यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

त्यस्तै स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि मन्त्रीको शपथ लिने प्रवक्ता पुनले बताए । नेकपा एस पनि सरकारमा सहभागी हुन्छ या हुँदैन टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीबाट प्रदेश सभामा रुपन्देहीकी भगवती अधिकारी मात्रै सांसद छन् । मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो ।

सहमतिअनुसार पार्टीलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नगरिएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्