Logo
Logo

दुबई डुबेपछि ‘क्लाउड सिडिङ’को चर्चा, कसरी हुन्छ वर्षा ?



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा पछिल्ला केही दशकको तुलनामा सबैभन्दा ठूलो बाढी आएको छ । यसअघि त्यतिको वर्षा सन् १९४९ मा भएको थियो । अचानक परेको पानीले गर्दा बाढी आएसँगै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरू प्रभावित भएका छन् ।

अहिले त्यहाँको जीवन अस्तव्यस्त बनेको छ । ठाउँ–ठाउँमा बाढी आउँदा यूएईमा २० जनाभन्दा बढीको ज्यान गइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । खाडी मुलुकमा अचानक यति ठूलो वर्षा कसरी भयो भन्ने विषयमा सर्वत्र चासो भइरहेको छ । एकथरीले क्लाउड सिडिड प्रविधि प्रयोग गर्दा ढंग नपुगेपछि दुबई लगायत खाँडी मुलुकु डुबेको पनि भनिरहेका छन् ।

यूएईको तटमा रहेको छ दुबई । सामान्यतः यो क्षेत्र अन्य क्षेत्रभन्दा धेरै सुक्खा छ । यसलाई विश्वकै सबैभन्दा गर्मी र सुक्खा हुने ठाउँमध्येको एक ठाउँका रूपमा लिइन्छ । यहाँको औसत वार्षिक वर्षा ७३ एमएम (३ इन्च) छ । र, त्यहाँको तापक्रम गर्मीमा औसत ५० डिग्री सेल्सियस हुने गर्छ । तर, कहिलेकाहीं यहाँ चरम वर्षा हुन्छ ।

तर, पछिल्लो समय दुबई र आसपासका क्षेत्रमा बढी सुक्खापन र गर्मी भएकाले मौसम सुधार गर्नका लागि नै यूएईले क्लाउड सिडिङ गरेको चर्चा भइरहेको छ । यूएईले त्यहाँ वर्षा हुनुभन्दा केही समयअघि उक्त देशको मेटेरियोलोजी एजेन्सीले ६, ७ वटा क्लाउड सिडिङ फ्लाइट उडाएको अलजजिराले रिपोर्ट सार्वजनिक गरेको छ ।

तर, युनिभर्सिटी अफ रिडिङका मौसमविद् प्राचार्य मार्टेन अम्बाउमले त्यस्तो कुनै फ्लाइट नगरेको दाबी गरेका छन् । उनले भने, ‘यस क्षेत्रलाई लामो समय वर्षा नहुने, भए अस्वाभाविक ढङ्गले हुने, कहिलेकाहीं भारी वर्षा हुने क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । त्यही पनि अहिले भएको वर्षालाई बिरलै हुने वर्षाका रूपमा लिइएको छ ।’

विज्ञहरूका अनुसार यूएई र ओमानमा ठूलो बाढी आउँदा त्यसलाई कम गर्ने ड्रेनेज सिस्टमको त्यहाँ अभाव छ । त्यसैले कहिलेकाहीं पानी पर्दा पनि बाटो तथा विमानस्थल डुबानमा परेका हुन्छन् । यी पक्षलाई ख्यालै नगरी मौसम नियन्त्रण गर्ने सोचले यूएईले क्लाउड सिडिङ गर्दा सात दशक पछिकै सबैभन्दा ठूलो पानी परेको र डुबान भएको विश्लेषण गरिएको छ ।

अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा आर्टिफिसियल अर्थात् कृत्रिम वर्षा कुनै नयाँ शब्दावली होइन । बाढी, खडेरी, लु, तुफान, डढेलो जस्ता स्थितिलाई आकाशबाटै नियन्त्रण गर्ने विकल्पको खोजीको रूपमा कृत्रिम वर्षाको चर्चा हुने गर्छ ।
के हो कृत्रिम वर्षा ?
वायुमण्डलमा एउटा विशेष प्रविधिको माध्यमबाट बादलमा वर्षाको बीउ राखेर वर्षा गराइनुलाई कृत्रिम वर्षा अर्थात क्लाउड सिडिङ भन्ने गरिन्छ । क्लाउड सिडिङ दुई शब्द क्लाउड र सिडिङ मिलेर बनेको छ । क्लाउडको अर्थ हो बादल, अनि सिडिङको अर्थ हो बिउ रोप्ने काम ।

त्यसोभए बादलबाट पानी कसरी पर्छ त ? बादलमा पानीको सानो सानो लाखौं कणहरू हुन्छन् । त्यसमा पानीको ससाना कण आएर जोडिने प्रक्रिया निरन्तर चल्दै जान्छ । जसले गर्दा बादल बढ्दै बढ्दै जान्छ । बादल बढ्ने क्रममा पानीका कणहरू पनि आफैं आफैंमा ठोक्किएर जोडिन्छन् । जसले गर्दा पानीको कण पहिलेको भन्दा ठूलो हुन्छ । जति ठूलो कणहरू हुँदै गए बादल त्यति नै ठूलो हुन्छ ।

त्यसो हुँदा पानीको कण जोडिएर यस्तो अवस्था बन्छ, जहाँ त्यसको तौल धानिन मुस्किल हुन्छ । र जमिनमा खस्छ । जमिनमा झर्ने क्रममा हावाको तापक्रम कम छ भने हिउँका रूपमा भूईँमा झर्छ । यदि हावाको तापक्रम बढी छ भने असिनाका रूपमा झर्छ । त्यो भन्दा पनि हावाको तापक्रम बढी छ भने पानीका रूपमा जमिनमा झर्छ ।

कसरी गरिन्छ बादलमा सिडिङ ?
बादलबाट पानी बन्नका लागि त्यहाँ कन्डेन्सेसन हुनुपर्छ । त्यही कन्डेन्सेसन छिटो गराउनका लागि त्यहाँ विशेष किसिमको रसायन प्रयोग गरिन्छ । सामान्य अर्थमा भन्दा बादलमा रसायन छर्ने काम नै क्लाउड सिडिङ हो ।

तर, कृत्रिम वर्षा गराउनका लागि त्यहाँ पहिले बादल हुनुपर्छ । जहाँ कुनै पनि बादल छैन, त्यहाँ क्लाउड सिडिङ गराउन सकिन्न । त्यसैले सबैभन्दा पहिला कृत्रिम वर्षा गराउन खोजिएको स्थानमा बादल छ कि छैन भन्ने विषय हेरिन्छ । यदि बादल छ भने कति उचाईमा छ र त्यस वरपरको वातावरणीय अवस्था के छ भन्ने कुरा पनि विचार गरिन्छ ।

त्यसपछि पूर्वानुमानको सहयोगमा वा मापन गरेर बादलमा कति पानी छ भन्ने पत्ता लगाइन्छ । त्यसपश्चात् बादलमा उपयुक्त स्थानमा सोडियम आयोडाइड (वा अन्य किसिमका केमिकल) राखिन्छ । उक्त केमिकलले बादलको माइक्रोफिजिकल प्रक्रिया (अर्थात् वर्षाको कण तथा बरफ) लाई तीव्र पारिदिन्छ । यसपछि वर्षाको रूपमा त्यो जमिनमा खस्छ ।

अमेरिकी वैज्ञानिक, रसायनशास्त्री तथा मौसमविद् विन्सेन्ट जे शेफरले सन् १९४३ मा क्लाउड सिडिङको आविष्कार गरेका थिए । वैज्ञानिक शेफरनले एउटा एक्सपेरिमेन्ट गर्दा गर्दा क्लाउड सिडिङ प्रविधि आविष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्