Logo
Logo

सरकार जनताको अभिभावक हो


मोहनचन्द्र अधिकारी


  • मोहनचन्द्र अधिकारी

काठमाडौं, २२ चैत । नेपालबाट राजतन्त्र अन्त्य र लोकतान्त्रिक (जनवादी) गणतन्त्र स्थापनाका लागि १७ वर्ष कठोर जेल जीवन बिताएका राजनेता मोहनचन्द्र अधिकारीले १४ वर्ष केपी शर्मा ओलीसँगै जेलमा बिताएका थिए ।
अधिकारीको अनुभवमा ओली आत्मबल बलियो भएका नेता हुन् । जेलमा आफूसँगै हुँदापनि उनीमा ढृड इच्छा थियो । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि पनि ओलीमा त्यतिबेलाकै जस्तो जोश र जागर छ । देश र जनताका लागि केही गर्छु भन्ने ढृड प्रतिज्ञा छ । उनको यो आत्मवललाई हरेक नेपाली जनताले अनुशरण गर्नुपर्छ ।

मोहनचन्द्र अधिकारी

देश अहिले कोरोना भाइरसको आतंकले संकटमा छ । नेपाल मात्र होइन, विश्वका हरेक देश आतंकबाट मुक्त छैन । यतिबेला प्रधानमन्त्री ओलीले सम्पूर्ण ध्यान आफ्नो देशको नागरिकको सुरक्षामा दिनुपर्छ । सम्पूर्ण राजनीति दल र तिनका नेता कार्यकर्ताहरु पनि यो महामारी रोगविरुद्ध जुध्न सरकारसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।
नेपालमा पनि कोरोना संक्रमित बिमारी भएको समाचार सार्वजनिक भएको छ । यसले सबैलाई चिन्तित तुल्याएको छ । काठमाडौंलगायत जिल्लातिरका अस्पतालमा समयमै स्वास्थ्य उपकरणको व्यवस्था गरिनुपर्छ । गाउँ–गाउँ र घर–घरमा स्वास्थ्यर्मीका साथै स्थानीय कार्यकर्ता परिचालन गरेर चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ ।
सिंगो देश ‘लकडाउन’ भएकाले उद्योगधन्दा, कलकारखाना सबै बन्द छ । यस्तो बेला ज्यालादारी, मजदूर, श्रमिकका साथै विपन्न वर्ग अहिले बढी मारमा परेका छन् । तिनीहरुको स्वास्थ्य उपचार तथा दैनिक गुजारामा सरकारले ध्यान दिनुपर्छ । अर्थमन्त्री युवराज खतिवडाले राहत ‘प्याकेज’ घोषणा गरेका छन् । त्यो ‘प्याकेज’ पर्याप्त छैन । जनताको हात र मुखमा पर्नेगरी नयाँ ‘प्याकेज’ घोषणा गर्न सरकारले ढिलाई गर्नु हुन्न ।
नेपालकै इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार छ । ओलीप्रति जनताको ठूलो आशा र भरोशा छ । ओलीले गरेर देखाउने बेला पनि यही हो । तर, कता–कता सरकार अलमलमा परेजस्तो छ ।
स्वास्थ्यसम्बन्धी उपकरण खरिदमा भ्रष्टाचारको गन्ध आउनु कम्युनिष्ट पार्टीका लागि अशोभनीय कुरा हो । को–बाट यस्तो कमि–कमजोरी भएको हो, त्यसमाथि छानविन र कारबाही थाल्नुपर्छ । संकटको घडीमा फाइदा उठाउन खोज्ने तत्व धेरै हुन्छ । त्यस्तालाई सरकारले कारबाही गर्नुपर्छ । दैनिक उपभोग्य बस्तु, औषधि, पानीको नियमित आपूर्ति गरिनुपर्छ ।
अहिले पनि भारतीय सीमामा सयौँ नेपाली अलपत्र परेका छन् । तिनको उद्वारमा सरकार उदासिन बनेको छ । सीमामा रोकिएका नागरिकलाई देशभित्र ‘क्वारेन्टाइन’मा राख्नुपर्छ । यो सरकारको दायित्य र कर्तव्य पनि हो ।
संकटको घडीमा सरकारको पहिचान हुने हुँदा कुनैपनि नेपाली नागरिकले सरकारको अुनुभूति गर्न पाउनुपर्छ । सरकार भनेको नेपाली जनताको अभिभावक पनि हो । त्यसैले हरेक जनताले सरकारबाट आशा राख्नु स्वभाविककै हो । यो संकटको घडीमा जनताको पीरमर्कामा साथ दिनु नै लोकतान्त्रिक चरित्र हो ।
–अधिकारीसँग कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्