Logo
Logo

भद्रगोल अर्थतन्त्र, बैंकमा थुप्रियो ६ खर्ब



काठमाडौं । राजश्वमा आएको गिरावटसँगै सरकारले वैदेशिक ऋणको ढोका खोलेर जनताको थाप्लोमा भार बढाउदै लगेको छ । वैदेशिक ऋण बढ्ने तर मुलुकबाट कुनै पनि वस्तु निर्यात नहुने भएकाले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा ठूलो समस्या देखिएको छ । अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकको ब्यालेन्स सिटमा पनि परेको छ । आर्थिक गतिविधि सुस्त हुँदा बैंकमा पैसा थुप्रिएको छ भने नाफा पनि घटेको छ ।

निष्क्रिय कर्जाको अनुपात वृद्धि हुँदा, ब्याजको रकम नउठ्दा, नयाँ परियोजनामा लगानी वृद्धि नहुँदा गत वर्षको तुलनामा वाणिज्य बैंकहरूको नाफा करिब ६ अर्ब रूपैयाँले घटेको हो । लगानी नभएपछि बैंकहरूमा करिब साढे ६ खर्ब रुपैयाँ थुप्रिएको छ । कर्जा मागमा कमी र लगानी गरेको कर्जाको ब्याज प्राप्त गर्न नसकेपछि वाणिज्य बैंकहरूको नाफा करिब सवा १३ प्रतिशतले घटेको हो ।

चालु आव २०८०–८१ को आठ महिना साउनदेखि फागुनसम्म २० वटा वाणिज्य बैंकले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ मात्र नाफा कमाएको तथ्यांक सार्वजनिक भएको छ । गत आवको सोही अवधिमा बैंकहरूले कुल ४८ अर्ब ८३ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार भए पनि आन्तरिक अर्थतन्त्रमा देखिएको सिथिलताले व्यवसाय विस्तार नहुँदा कर्जा प्रवाह भएको छैन । ब्याजदर घट्दै गए पनि व्यवसायीले नयाँ परियोजनामा लगानी गर्ने तत्परता देखाएका छैनन् । बैंकबाट ऋण लिएका व्यवसायीले समयमा ब्याज तिर्न नसकेपछि धमाधम कालोसूचीमा परेका छन् ।

यसको असर बैंकको कारोबारमा परेको हो । २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहे पनि पोहोरको तुलनामा नाफा करिब आधा अर्ब रूपैयाँले घटेको छ ।

नबिलले चालु आवको आठ महिनामा ४ अर्ब ७२ करोड ४२ लाख रूपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्ष सोही अवधिमा ५ अर्ब ३२ करोड रूपैयाँ नाफा कमाएको थियो। ग्लोबल आइएमई बैंकले यो वर्ष ३ अर्ब ४३ करोड ३० लाख रूपैयाँ नाफा कमाएको छ। ग्लोबलले गत आवको सोही अवधिमा ४ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो ।

यसरी हेर्दा प्रायः सबै बैंकको नाफा घटेको छ । प्राइम बैंकको नाफा २ अर्ब ८८ करोड ७८ लाख, राष्ट्रिय वाणिज्यको २ अर्ब ८७ करोड ७६ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ अर्ब ८० करोड ४५ लाख, एनआइसी एसिया बैंकको २ अर्ब ५४ करोड २४ लाख रूपैयाँ, एभरेस्ट बैंकको नाफा २ अर्ब २९ करोड ३४ लाख रूपैयाँ रहेको छ ।

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख, कृषि विकासले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयनले १ अर्ब ९४ करोड ८३ लाख, एनएमबीले १ अर्ब ९२ करोड ५२ लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थले १ अर्ब ६९ करोड ६५ लाख, सानिमाले १ अर्ब ६६ करोड ४८ लाख रूपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख, कुमारीले १ अर्ब ४२ करोड ४६ लाख, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख, सिटिजन्स बैंकले १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रूपैयाँ नाफा आर्जन गरेका छन् ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण निजी क्षेत्रले लगानी विस्तार गरेका छैनन् । बैंकमा कर्जाको माग नभएपछि रकम थुप्रिएर बसेको छ । बैंकहरूमा तत्काल कर्जाका रूपमा दिन सकिने करिब ६ खर्ब रूपैयाँ बढी रकम रहेको छ ।

दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर निदान नगर्दा समस्या झन् बल्झिँदै गएको अवस्थामा उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ । अर्थतन्त्र सुस्ताएकाले नयाँ परियोजना नआउँदा कर्जाको माग न्यून भएपछि बैंकको लगानी बिस्तार हुन नसकेको बैकहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्