Logo
Logo

तीन दशकको अभ्यास सच्याउन समय लाग्छ, पुराना अभिव्यक्तिको गोताखोरी नगरौं : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्ना पुरानो अभिव्यक्ति नखोतल्न आग्रह गरेका छन् । हिजो जे कुरालाई गलत भनिएको हो आज पनि गलत नै रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत् हिजोका आफ्ना अभिव्यक्तिको गोताखोरी नगर्न भनेका हुन् ।

कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री लामिछानेले कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने भन्दै प्रस्टीकरण दिएका छन् ।

अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको उनले बताएका छन् ।

‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले भनेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्