Logo
Logo

कतारी राजासँग ६ मन्त्रीसहित ७० जना बढी उच्च अधिकारी आउँदै



काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा ७० जनाभन्दा बढी सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै आज नेपाल आउन लागेका हुन् ।

उनको टोलीमा कतारी सरकारका ६ जना मन्त्रीसहित उच्च तहका अधिकारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेष विमानमार्फत काठमाडौं ओर्लिनुअघि कम्तीमा १५ मिनेट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुनेछ ।

उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन् । राजाको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिनेछ ।

त्यसपछि उनी होटल सोल्टीमा जानेछन् । त्यहाँ केहीबेर आराम गरेर राजा शेख राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न शीतलनिवास पुग्ने कार्यक्रम छ । बुधबार नेपाल र कतारबीच द्विपक्षीय औपचारिक वार्ता हुनेछ । त्यही क्रममा विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर हुनेछ ।

नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले गर्नेछन् । बुधबार प्रधानमन्त्री प्रचण्डले नै कतारी राजाको सम्मानमा दिवाभोज दिनेछन । त्यसपछि राजाको टोली स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्