Logo
Logo

इलाममा दलहरूको शक्ति परीक्षण, त्रिपक्षीय भिडन्तमा पहिचानवादी तगारो



काठमाडौं । इलाम- २ मा यही वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ एकमात्र क्षेत्रमा निर्वाचन हुन लागे पनि देशभरका राजनीतिक सरोकारवालाहरूको ध्यान यतिबेला इलाम-२ मा खिचिएको छ । 

यो उपनिर्वाचन पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ । यसअघि दुई पक्षीय भिडन्त भएको इलाममा यसपटक चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

उम्मेदवारहरू विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ जनाको उम्मेदवार रहेपनि एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको चर्चा चुलिएको छ ।

विसं २०७९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

एमालेले सुवासकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । फुटबल क्लब र वकालती फर्म चलाइरहेका सुहाङले बुवा सुवासको पदचाप पछ्याउँदै बुबाकै निर्वाचन क्षेत्रबाट राजनीतिमा ‘डेब्यु’ गरेका हुन् । 

इलाम २ मा २०५६ सालदेखि एमाले नेता सुवास नेम्वाङले जित्दै आएका थिए । २४ वर्षदेखिको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ । एमाले नेतृत्व इलाम पुगेर आफ्नो पार्टीको उम्मेदवार सुहाङ नेम्वाङलाई निर्वाचित गराए पठाए विकासको जिम्मा लिने घोषणा नै गरिरहेको छ ।

सुहाङप्रति सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष सुवासको विरासत र सहानुभूतिको भोट हो । नकारात्मक पक्ष वंशवाद र परिवारवाद हो । अर्कोतिर सुहाङलाई टिकट दिएकोमा एमालेको एउटा समूह असन्तुष्ट पनि छ । 

त्यस्तै एमालेलाई पहिचानविरोधिको ट्याग समेत लागेको छ । नयाँ दल रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पत्रकारिता क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै रास्वपा प्रवेश गरेका मिलनले विकासको एजेन्डा बोकेर मैदानमा छन् । 

कांग्रेस, एमाले र माओवादीभित्रका असन्तुष्टहरूको मत तान्ने रणनीति बनाएको रास्वपाले शान्त विद्रोह गरेको बताउने गरेको छ । 

एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएपछि लामो समय पार्टीमा योगदान गरेका नेता कार्यकर्ता असन्तुष्ट छ । एमालेमा वंश परम्परा विकसित र झ्याङ्गिँदा लामो राजनीतिक सङ्घर्ष गरेका कार्यकर्ताहरू चिन्तित छन् । कांग्रेसलाई त उम्मेदवार छान्न नै महाभारत भएको थियो भने केन्द्रले एमालेको उम्मेदवारलाई सघाउने निर्णय गरेपछि इलाम माओवादी असन्तुष्ट छ । 

अघिल्लो पटकका बलियो प्रतिस्पर्धीलाई डम्बरबहादुर खड्कालाई नै यसपटक पनि कांग्रेसले उम्मेदवारी बनाएको छ । अघिल्लो पटक सुवाससँग एक सय १४ मतान्तरले पराजय बेहोर्दा खड्काले माओवादीसहित तत्कालीन गठबन्धनको मत पाएका थिए । यसपटक कांग्रेसलाई यो सुविधा छैन । त्यसैले कांग्रेस पहिचानवादीको पनि मत तान्ने रणनीतिमा लाखेको देखिन्छ  ।

यसैगरी, एमाले छाडेर पहिचानको अभियान चलाएको डकेन्द्रसिंह थेगिमले स्वतन्त्र रूपमा उम्मेदवार दिएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकको समर्थन पाएका डकेन्द्रलाई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उठेर धरान उपमहानगरपालिकाको प्रमुख बनेका हर्क साम्पाङको पनि साथ छ । 

गत चुनावको मतको अंकगणित र माओवादीको समर्थनले यस निर्वाचनमा सुहाङलाई सहज हुने देखिन्छ । गत निर्वाचनमा समानुपातिकतर्फ २६ हजार ५६२ मतसहित एमाले पहिलो दल बनेको थियो ।

कांग्रेसको २२ हजार ३३ मत ल्याएको थियो भने माओवादी केन्द्रले ५ हजार १५३ मत प्राप्त गर्दा रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो । 

तर मतदाताको परिवर्तित आकांक्षा र अरू उम्मेदवारका कारण गत चुनावको अंकगणितलाई मात्र आधार मानेर अड्कलबाजी भने गर्न सकिँदैन । 

उम्मेदवार नउठाई ओमवादीले एमालेको उम्मेदवार सुहाङलाई सघाउने जनाएपनि पूर्वमाओवादी मिलन लिम्बूले पनि सुहाङको भोट काट्ने देखिन्छ । 

यता, पहिचानवादीको धेरै मत स्वतन्त्र उम्मेदवार थेगिमलाई जाने देखिन्छ । तर, पहिचानवादीको केही मत भने पहिचान अभियन्ता बनेका मिलन लिम्बूलाई पनि जानेछ । विगतका अंकगणित, नयाँ दलको उदय र पहिचानको आन्दोलनले गर्दा इलाम–२ को मत परिणाम विश्लेषण गर्न कठिन छ ।

प्रतिक्रिया दिनुहोस्