Logo
Logo

रास्वपाले भन्यो- निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)ले इलाम–२ को उपनिर्वाचनको परिणामले आफूहरुलाई सचेत गराएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएका हुन् ।

निर्वाचनको परिणामले कैयन कमीकमजोरी रहेको बताउँदै उनले यसलाई सच्याएर अघि बढ्ने बताएका छन् । ‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं.२ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘नतिजा हाम्रो अनुकूल आएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भइ जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं । साथैै, निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरू हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं ।’

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका थिए । उनले जमानत जोगाउन सकेनन् । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका सुहान नेम्बाङ २७ हजार ७७२ मत पाएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरी दोस्रो भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्