Logo
Logo

आधुनिक गायनमा ‘सर्वोकृष्ट गायक’ ठहरिए योक्तुम्बा रमेशराज लिम्बू



काठमाडौं । गायक योक्तुम्बा रमेशराज लिम्बूले आधुनिक गायनमा पुरुषतर्फ सर्वोकृष्ट गायकको अवार्ड प्राप्त गरेका छन् । नेपाल संगीत उद्योगद्वारा बुधबार काठमाडौंमा आयोजित तेस्रो एमिन राष्ट्रिय अवार्ड–२०२४ मा ‘सम्झना आउँछ तिम्रो’ गीतबाट उक्त अवार्ड हात पारेका हुन् ।

कार्यक्रम विभिन्न तीन दर्जनभन्दा बढी संगीतका विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्डेड गीत ‘सम्झना आउँछ तिम्रो’ गीतमा रमेशराज लिम्बूकै शब्द, संगीत र स्वर रहेको छ । उक्त गीत गायक रमेशराजको ‘रिक्वेष्ट’ नामक एल्मबमा समावेश छ । यस गीतको भिडियो भने हालै मात्र सार्वजनिक भएको थियो ।

केही वर्षअघि नै सार्वजनिक भएको ‘रिक्वेष्ट’ एल्बमको ‘यो मौसम पनि’ बोलको गीतले यसअघि क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा पाएको थियो । उक्त गीतबाट रमेशराजले ‘सर्वोकृष्ट नव पप गायक’को अवार्ड पाएका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा करिब डेढ दशकदेखि सक्रिय रहेका गायक रमेशराजले तीनवटा सोलो एल्बम र थुप्रै गीतहरुमा स्वर दिइसकेका छन् । तेह्रथुमको म्याङ्लुङ–५ अम्फवाका गायक रमेशराजले २०६२ सालमा मोफसल धरानदेखि गीतसंगीतलाई अँगाल्दै आएका हुन् । उनी गायनसँगै म्युजिक भिडियो निर्देशन तथा मोडलिङसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्